तारकेश्वर १० को जम्बुलिंक पानीको जारमा फोहर भेटियो, कवाडी उद्योगले राजश्व छलेको आशंकामा कागजात जफत

Sagarmatha Post
Sagarmatha Post ३० असार २०८३, मंगलवार
3 Min Read
Aa

काठमाडौं । स्थानीयबासीको लगातार लिखित उजुरीपछि तारकेश्वर नगरपालिकाले वडा नं. १० स्थित विभिन्न उद्योग तथा व्यवसायमा गरेको बजार अनुगमनका क्रममा गम्भीर अनियमितता र मापदण्ड उल्लंघनका घटनाहरू फेला परेका छन्। अनुगमनका क्रममा जयराजदेवी ट्रेडर्स नामक कवाडी उद्योग, जम्बुलिङक पानी कम्पनी तथा आवश्यक दर्ताबिनै सञ्चालनको तयारीमा रहेको इसानेश्वर फर्निचर उद्योग नगरपालिकाको निगरानीमा परेका हुन्।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख एवं बजार अनुगमन समितिकी संयोजक सृजना बुर्लाकोटी अर्यालको नेतृत्वमा गएको टोलीले वडा नं. १० को हिमाली टोल नजिक रहेको जयराजदेवी ट्रेडर्स, जम्बुलिङक पानी कम्पनी तथा इसानेश्वर फर्निचर उद्योगको स्थलगत अनुगमन गरेको थियो।

अनुगमनका क्रममा जयराजदेवी ट्रेडर्सले उद्योग सञ्चालनका आधारभूत कानुनी मापदण्ड नै पूरा नगरेको भेटिएको छ। टोलीका सदस्य भुपेन्द्रसिंह बडालका अनुसार उद्योगले टहरोको नक्सापास नगरी संरचना निर्माण गरेको, श्रमिकलाई सुरक्षा उपकरणबिनै जोखिमपूर्ण अवस्थामा काममा लगाएको, छिमेकी बस्तीलाई प्रत्यक्ष असर पर्ने गरी मेसिन सञ्चालन गरेको तथा अनुगमन टोलीलाई आवश्यक कागजातसमेत उपलब्ध गराउन नसकेको पाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा जयराजदेवी ट्रेडर्सले छेउमै रहेको जम्बुलिङक पानी कम्पनीको सम्झौता कागजात देखाएर वडा कार्यालयबाट व्यवसाय नवीकरण गरेको आशंका समेत देखिएको छ। त्यसपछि नगरपालिकाले जयराजदेवी ट्रेडर्ससँग सम्बन्धित कागजात जफत गर्दै व्यवसायीलाई तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ। आवश्यक अनुसन्धानपछि कानुनबमोजिम थप कारबाही गरिने उपप्रमुख अर्यालले जानकारी दिइन्।

यसै क्रममा अनुगमन टोलीले जम्बुलिङक पानी कम्पनीको पनि निरीक्षण गरेको थियो। मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानी उत्पादन गर्ने उद्योगमा सरसफाइको अवस्था कमजोर देखिएको र बजार पठाउन तयारी अवस्थामा रहेका पानीका जारभित्र फोहोर भेटिएपछि टोलीले दुई वटा जार जफत गरेको छ। ती जारको नमुना प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। परीक्षण प्रतिवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

त्यसैगरी, नजिकै रहेको इसानेश्वर फर्निचर उद्योगले आवश्यक दर्ता प्रक्रिया पूरा नगरी उद्योग सञ्चालनको तयारी गरिरहेको भेटिएपछि टोलीले तत्काल दर्ता प्रक्रिया पूरा गरेर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ।

उद्योगका प्रतिनिधिले भने कम्पनी चन्द्रागिरी नगरपालिकामा दर्ता रहेको भए पनि तारकेश्वर–१० मा करिब तीन साताअघि मात्रै उद्योग सञ्चालनको प्रक्रिया अघि बढाइएको बताएका छन्। साथै, सोही स्थानमा फर्निचर पसलको दर्ता भने वडा कार्यालयमा रहेको दाबी कम्पनीको छ।

“रातभर सुत्नै पाइँदैन” : स्थानीयको आक्रोश

स्थानीयवासी धनबहादुर गुरुङले जयराजदेवी ट्रेडर्सबाट रातभर सञ्चालन हुने मेसिनको ठूलो आवाजका कारण टोलबासीले लामो समयदेखि सास्ती भोगिरहेको बताए। उनका अनुसार उद्योगबाट हुने ध्वनि प्रदूषणका कारण स्थानीयले ढुक्कसँग सुत्नसमेत नपाउने अवस्था सिर्जना भएको छ।

उनले आवासीय क्षेत्रमै यस्ता उद्योग सञ्चालन हुँदा वातावरणीय असर र जनस्वास्थ्यमा जोखिम बढेको बताए। साथै, आसपास सञ्चालनमा रहेका पानी उद्योगहरूले अत्यधिक भूमिगत पानी प्रयोग गर्दा नजिकका घरधुरीका ट्युबवेल सुक्न थालेको गम्भीर गुनासो समेत गरे।

स्थानीयले आवासीय क्षेत्रमा उद्योग सञ्चालनको अनुमति कसरी दिइयो भन्ने विषयमा समेत प्रश्न उठाउँदै सम्बन्धित निकायलाई दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

नगरपालिकाले स्थानीयको स्वास्थ्य, वातावरण र उपभोक्ताको अधिकारमा प्रतिकूल असर पार्ने उद्योग तथा व्यवसायमाथि आगामी दिनमा अझ सशक्त अनुगमन र कानुनी कारबाही अघि बढाइने स्पष्ट पारेको छ। स्थानीयको उजुरीका आधारमा गरिएको यस अनुगमनले नियमविपरीत सञ्चालन भइरहेका व्यवसायमाथि नगरपालिका अब थप कडा रूपमा प्रस्तुत हुने संकेत दिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्