रबिन थपलिया । काठमाडौं, असार ३२ । तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलनतर्फ उल्लेखनीय प्रगति हासिल गरेको छ । नगरपालिकाको राजस्व संकलन विवरणअनुसार चालु आर्थिक वर्षमा ४५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ४३ करोड ५३ लाख ७६ हजार ४७० रुपैयाँ २४ पैसा राजस्व संकलन भएको तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले जानकारी दिनुभयो । नगरपालिकाको यो लक्ष्यको ९६.७५ प्रतिशत प्रगति हो ।
नगरपालिकाले सार्वजनिक गरेको कार्यालयगत राजस्व संकलन विवरणअनुसार नगरपालिकाको केन्द्रीय कार्यालयसँगै वडा कार्यालयहरूबाट समेत कर तथा विभिन्न शीर्षकमा राजस्व संकलन गरिएको हो।
तथ्यांकअनुसार सबैभन्दा बढी राजस्व नगरपालिकाको केन्द्रीय कार्यालयबाट संकलन भएको देखिन्छ भने वडा कार्यालयहरूले पनि आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान दिएका छन्। नगरपालिकाले सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, सिफारिस दस्तुर, नक्सापास दस्तुर तथा अन्य सेवा शुल्कबाट राजस्व संकलन गरेको जनाएको छ।
नगरपालिकाले लक्ष्यको झण्डै ९७ प्रतिशत राजस्व संकलन गर्न सफल हुनु स्थानीय राजस्व व्यवस्थापन, कर प्रशासनको प्रभावकारिता तथा करदाताको सहभागिताको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
राजस्व संकलनमा तारकेश्वरको छलाङ, ४५ करोड लक्ष्यमा ९६.७५ प्रतिशत सफलता


प्रतिक्रिया दिनुहोस्