काठमाडौँ । राजधानीको कीर्तिपुर नगरपालिका–स्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागी भएपछि चालक बाहिर निस्कन नसकेका कारण उनी गाडीभित्रै जलेको अवस्थामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) दिलीप घिमिरेका अनुसार चालक सिट बेल्ट बाँधेकै अवस्थामा कारभित्र मृत भेटिएका छन्। मृतकको परिचय भने अझै खुल्न सकेको छैन।
घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरी टोलीले फायर एक्स्टिङ्गुइसरको प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। त्यसपछि दमकल घटनास्थलमा पुगेर आगो पूर्ण रूपमा निभाएको थियो।
कारमा आगलागी हुनुको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्