काठमाडौं । तारकेश्वरस्थित एन्जेल्स हार्ट नेशनल स्कूल र शुभम इन्टरनेशनल हस्पिटल प्रालिबीच सेवा आदान–प्रदान तथा पारस्परिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।सम्झौताअनुसार एन्जेल्स हार्ट नेशनल स्कूलका विद्यार्थी, अभिभावक, कानुनी संरक्षक, शिक्षण तथा गैरशिक्षण कर्मचारीहरूले शुभम इन्टरनेशनल हस्पिटलबाट उपलब्ध हुने चिकित्सा तथा शल्यक्रिया सेवामा १५ प्रतिशत छुट पाउनेछन्। छात्रावासमा बसोबास गर्ने विद्यार्थीहरू पनि यस सुविधाका लागि योग्य रहने विद्यालयले जनाएको छ।
यस्तै, शुभम इन्टरनेशनल हस्पिटलका योग्य चिकित्सक, सदस्य तथा कर्मचारीका सन्तानले एन्जेल्स हार्ट नेशनल स्कूलमा अध्ययन गर्दा विद्यालय शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।छुट सुविधा लिन सम्बन्धित संस्थाले जारी गरेको वैध परिचयपत्र वा सिफारिसपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउनुका साथै छुट लागू हुने सेवाबारे स्पष्ट जानकारी दिने र “शुभम आशीर्वाद कार्ड” विद्यालय प्रशासनलाई उपलब्ध गराउनेछ।विद्यालयले भने आफ्ना विद्यार्थी, अभिभावक तथा कर्मचारीलाई उक्त सुविधाबारे जानकारी गराउने र आवश्यक प्रशासनिक समन्वय गर्ने जिम्मेवारी निर्वाह गर्ने जनाएको छ।सम्झौता हस्ताक्षर भएको मितिदेखि एक वर्षसम्म लागू रहनेछ। दुवै पक्षको सहमतिमा यसलाई नवीकरण गर्न सकिनेछ भने कुनै पनि पक्षले ३० दिनअघि लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने प्रावधान पनि राखिएको छ। सम्झौता स्वैच्छिक सहकार्यमा आधारित भएकाले यसले कुनै कानुनी वित्तीय दायित्व सिर्जना नगर्ने उल्लेख गरिएको छ।
सम्झौतापत्रमा एन्जेल्स हार्ट नेशनल स्कूलका प्रधानाध्यापक टक बहादुर थापा तथा शुभम इन्टरनेशनल हस्पिटलका अस्पताल प्रबन्धक डा. प्रमोद अधिकारी र प्रशासकीय प्रमुख श्याम भक्त घिमिरेले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया दिनुहोस्