काठमाडौं, साउन १३। नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन देशभरका कांग्रेस समर्थित जनप्रतिनिधिहरूले ‘संयुक्त राष्ट्रिय दबाब अभियान’ सुरु गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित बैठकपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा कांग्रेस लोकतन्त्र, नागरिक अधिकार र संवैधानिक व्यवस्थाको प्रमुख संवाहक शक्ति भएकाले पार्टीभित्रको एकता आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गरिएको छ। आन्तरिक विवादले पार्टीसँगै लोकतान्त्रिक व्यवस्थालाई समेत कमजोर बनाउने भएकाले शीर्ष नेतृत्वलाई शीघ्र सहमति र एकताको वातावरण निर्माण गर्न आग्रह गरिएको छ।
बैठकमा सहभागी तारकेश्वर नगरपालिकाका नगर प्रमुख, नगर सभापति तथा उपत्यका मेयर फोरमका कोषाध्यक्ष कृष्णहरि महर्जन ले सगरमाथा पोस्टसँग कुरा गर्दै पार्टीभित्रको एकता समयको आवश्यकता भएको बताए। उनले कांग्रेसलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
महर्जनका अनुसार जनप्रतिनिधिहरूको यो अभियान कुनै व्यक्ति वा समूहविरुद्ध नभई पार्टीलाई थप सशक्त, एकताबद्ध र जनविश्वासयोग्य बनाउने उद्देश्यले सुरु गरिएको हो। उनले देशभरका जनप्रतिनिधिहरू एकताका पक्षमा उभिएको सन्देश पार्टी नेतृत्वले गम्भीर रूपमा लिनुपर्ने बताए।
संयुक्त विज्ञप्तिमा देशमा देखिएको राजनीतिक अस्थिरता, सामाजिक असहिष्णुता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि बढ्दो चुनौतीको सामना गर्न कांग्रेसभित्रको एकता अझ अपरिहार्य रहेको उल्लेख गरिएको छ।
यस अभियानअन्तर्गत साउन १६ गते कांग्रेस समर्थित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिने जनाइएको छ। उक्त भेलाबाट पार्टी एकताको पक्षमा साझा निष्कर्षसहित शीर्ष नेतृत्वलाई थप दबाब दिने तयारी गरिएको आयोजकहरूले बताएका छन्।
बैठकमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना, उपत्यका मेयर फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका संघ बागमतीका संयोजक एवं कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, सदस्य सचिव एवं शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीसहित विभिन्न स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्