काठमाडौं, साउन १७ – नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपास (VOIP) सञ्चालनमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ठूलो परिमाणमा सिम बक्स (SIM Box), सिमकार्ड, ल्यापटप, राउटर, ब्याट्रीलगायतका उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद भएका उपकरण तथा सामग्रीहरू NPR77casino.com, IME88.com र Khalti88.com लगायतका अनलाइन बेटिङ एप सञ्चालनमा समेत प्रयोग भइरहेको खुलेको छ। उक्त विषयमा समेत थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।
पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट गाउँपालिका–५ घर भई हाल काठमाडौं जयबागेश्वरी बस्दै आएका २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौं शंखरापुर–१ घर भई हाल गणेशस्थान बस्दै आएकी २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर कृष्णपुर नगरपालिका–७ घर भई हाल भक्तपुर सूर्यविनायकमा बस्दै आएका २१ वर्षीय जेनित झुकाल तथा भक्तपुर सूर्यविनायक–१ निवासी ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन्।
प्रोशेस गुरुङको कोठाबाट १६ पोर्टको एक थान सिम बक्स, २२ वटा एनसेल सिमकार्ड, ल्यापटप, राउटर र मोबाइल बरामद गरिएको छ। मुना श्रेष्ठबाट पनि १६ पोर्टको सिम बक्स, २० वटा एनसेल सिमकार्ड, ल्यापटप, राउटर र दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, जेनित झुकालको डेराबाट पाँच थान ११२ पोर्ट क्षमताका सिम बक्स, १५३ वटा एनसेल सिमकार्ड, आठ थान ब्याट्री, इन्भर्टर तथा अन्य उपकरण बरामद गरिएको छ। कृष्ण नगरकोटी भने आफ्नै घरमा VOIP सञ्चालनको तयारी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनीबाट आठ थान ब्याट्री, एक थान UPS, ल्यापटप, राउटर तथा इन्टरनेट हब बरामद भएको प्रहरीले जनाएको छ।
चारै जनालाई सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी दुरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाइएको छ। साथै, बरामद उपकरण अनलाइन बेटिङ नेटवर्कसँग जोडिएको विषयमा पनि विस्तृत अनुसन्धान जारी रहेको साइबर ब्युरोले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्