रबिन थपलिया । काठमाडौं, साउन १८ – खेलकुदमार्फत अनुशासित, सक्षम र प्रतिस्पर्धी पुस्ता निर्माण गर्ने उद्देश्यसहित तारकेश्वर नगरपालिकाले आफ्नो इतिहासमै पहिलो पटक ‘तारकेश्वर कप–२०८३’ छात्र फुटबल प्रतियोगिता सुरु गरेको छ । टिपटो स्पोट्र्स हब, तारकेश्वर–८ शेषमतीमा आज आयोजित विशेष समारोहबीच नगर प्रमुख कृष्णहरि महर्जनले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो ।
साउन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयका ३२ टोली सहभागी छन्। नगरपालिकाले पहिलो पटक आयोजना गरेको यो प्रतियोगितालाई विद्यालयस्तरबाटै फुटबल प्रतिभा पहिचान र खेलकुद संस्कृतिको विकास गर्ने दीर्घकालीन अभियानको सुरुवातका रूपमा लिइएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरको खेलकुद इतिहासमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले नगरको खेलकुद विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित नगरपालिकाले खेलकुद क्षेत्रमा निरन्तर लगानी गरिरहेको बताउनुभयो।
कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले प्रतियोगिताले सामुदायिक र संस्थागत विद्यालयबीचको सम्बन्धलाई थप आत्मीय बनाउने तथा विद्यार्थीबीच सहयोग, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
खेलकुदमा गरिएको लगानीकै कारण अहिले विभिन्न खेलका प्रतिभा खोज्न तारकेश्वरतर्फ सबैको ध्यान केन्द्रित हुन थालेको बताँउदै शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा तारकेश्वरलाई देशकै उत्कृष्ट स्थानीय तहमध्ये एक बनाउने लक्ष्यका साथ नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले खेलकुदमार्फत तारकेश्वरलाई राष्ट्रिय स्तरमा छुट्टै पहिचान दिलाउने विश्वास व्यक्त गर्दै सहभागी विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र खेलभावनाका साथ प्रतियोगितामा सहभागी हुन आग्रह गर्नुभयो। जित वा हारभन्दा अनुशासन, नियमको पालना र उत्कृष्ट खेल प्रदर्शन नै सबैभन्दा ठूलो उपलब्धि हुने उहाँको भनाइ थियो।
तारकेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राधाकृष्ण खड्गीले काठमाडौं जिल्लामै खेलकुद क्षेत्रमा तारकेश्वर अग्रणी स्थानीय तहका रूपमा स्थापित हुँदै गएको बताउनुभयो।
शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीले विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो।
नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित अतिथि र प्रतियोगितामा सहभागी खेलाडी टिम र प्रशिक्षक सहितले बेलुन उडाएर संयुक्त रुप्मा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ ।
तारकेश्वर नगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्कीले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष कवीराज बस्नेत, खेलकुद विकास समितिका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मेयर कपदेखि राष्ट्रपति रनिङ शिल्डसम्म ऐतिहासिक सफलता हासिल गरिसकेको तारकेश्वरले अब ‘तारकेश्वर कप’मार्फत विद्यालय फुटबलको नयाँ युग सुरु गरेको छ। नगरपालिकाले यस प्रतियोगितालाई वार्षिक रूपमा निरन्तर सञ्चालन गर्दै स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य लिएको जनाएको छ। तारकेश्वरमा कृष्ण हरि महर्जन निर्वाचित भएर नगर प्रमुख बनेपछि तारकेश्वरमा खेलकुद क्षेत्रले उल्लेखनीय फड्को मारेको छ । उहाँकै नेतृत्वमा मेयर कप रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको थियो। त्यससँगै तारकेश्वरले पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएको थियो। उल्लेखनीय रूपमा, काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो सहभागितामै तारकेश्वरले दोस्रो स्थान हासिल गर्दै सबैलाई चकित बनाएको थियो। त्यसपछि नगरपालिकाले निरन्तर आफ्नो प्रदर्शनलाई अझ सशक्त बनाउँदै लगातार तीन पटक काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । यस वर्ष लगातार तेस्रो पटक उपाधि जित्दै तारकेश्वरले शिल्ड स्थायी रूपमा आफ्नो कब्जामा पारेर नयाँ इतिहास रचेको छ। यही सफल यात्राको निरन्तरताका रूपमा अहिले पहिलो पटक ’तारकेश्वर कप’ फुटबल प्रतियोगिता आयोजना गरिएको नगरपालिकाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्