रबिन थपलिया । काठमाडौं, साउन २० – विद्यालयस्तरबाट प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्दै नेपाली क्रिकेटको बलियो आधार तयार गर्ने उद्देश्यसहित एन्जल्स हार्ट नेशनल स्कुलको आयोजनामा ‘जुनियर क्रिकेट लिग (जेसीएल)–२०८३ : इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता (मनसुन च्याप्टर–दोस्रो सिजन)’ आयोजना हुने भएको छ। प्रतियोगिताअघि मंगलबार आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा आयोजकले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै विद्यालय क्रिकेटको विकासका लागि यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेको हो।

प्रतियोगिता साउन २४ गतेदेखि २८ गतेसम्म तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्स (ए–१ इन्डोर) मा सञ्चालन हुनेछ। प्रतियोगिता टी–१० इन्डोर क्रिकेट को लिग तथा नकआउट प्रणालीमा खेलाइनेछ। प्रतियोगिताको व्यवस्थापन एन्जल्स स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टर ले गर्नेछ भने नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाज ले विशेष सहयोग गर्ने आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ उत्कृष्ट विद्यालयका २५० भन्दा बढी विद्यार्थी खेलाडी सहभागी हुनेछन्। सहभागी विद्यालयहरूमा डीएभी स्कुल (दुई टोली), भ्याली पब्लिक स्कुल, एन्जल्स हार्ट नेशनल स्कुल, एन्जल्स हार्ट सेकेन्डरी स्कुल, क्रियटिभ एकेडेमी, केएमसी स्कुल, ज्ञानोदय बालबाटिका, त्रिलोक विद्यालय, नवोदित स्कुल, मानसिंह स्कुल, स्कलर्स होम एकेडेमी, हिमालयन ह्वाइट हाउस आईबी वर्ल्ड स्कुल, चेल्सी वर्ल्ड स्कुल, पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुल, आरम्भ एकेडेमी, जेम्स स्कुल, एसिया प्यासिफिक स्कुल, सत्य साई स्कुल, गम्भीर समुद्र सेतु माध्यमिक विद्यालय, प्यारामाउन्ट एकेडेमी, सेलिब्रेसन को–एड स्कुल, मनमैजु स्कुल तथा नेरिक एकेडेमी रहेका छन्।
सोही अवसरमा नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठ, राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर तथा एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुनले सहभागी विद्यालयका टोलीका कप्तानहरूको उपस्थितिमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठले विद्यालयस्तरमा यस्ता प्रतियोगिताले नेपाली खेलकुदको आधार बलियो बनाउने विश्वास व्यक्त गर्दै खेलकुदमा लगानी बढाउनु आजको आवश्यकता भएको बताए। उनले विद्यालयबाटै प्रतिभाको खोजी र विकास गर्न सके भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्न सहज हुने धारणा राखे।
पूर्व राष्ट्रिय क्रिकेटर शरद भेषावकरले विद्यालयस्तरमा निरन्तर प्रतियोगिता सञ्चालन हुन सके नेपाली क्रिकेटले अझ धेरै प्रतिभाशाली खेलाडी पाउने विश्वास व्यक्त गरे। उनले खेलाडीलाई प्रतियोगिताको अनुभव नै सबैभन्दा ठूलो सिकाइ हुने उल्लेख गर्दै सहभागी विद्यार्थीलाई अवसरको भरपुर सदुपयोग गर्न आग्रह गरे।
एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुनले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनु संस्थाको प्राथमिकता रहेको बताउँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिने बताए। उनले विद्यालयस्तरबाटै खेल संस्कृतिको विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एन्जल्स हार्ट नेशनल स्कुलका प्रधानाध्यापक टकबहादुर थापाले नेपालमा क्रिकेटप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको अवस्थामा विद्यालयस्तरमै व्यवस्थित, प्रतिस्पर्धात्मक र गुणस्तरीय प्रतियोगिता सञ्चालन गर्नु समयको आवश्यकता भएको बताए।
उनले विद्यालय क्रिकेटको दिगो विकास, नयाँ प्रतिभाको पहिचान तथा भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले जुनियर क्रिकेट लिग आयोजना गरिएको स्पष्ट पारे। “जुनियर क्रिकेट लिग केवल एउटा प्रतियोगिता मात्र होइन, विद्यालयस्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने सशक्त माध्यम हो,” उनले भने। प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख १० हजार रुपैयाँ खर्च हुने जानकारी दिँदै उनले खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, स्वस्थ प्रतिस्पर्धा र टोली भावनाको विकास हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा एन्जल्स स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापाले विद्यालय क्रिकेट नै नेपाली क्रिकेटको भविष्य निर्माण गर्ने बलियो आधार भएको बताए। उनका अनुसार हरेक राष्ट्रिय क्रिकेट खेलाडी कुनै समय विद्यालयको विद्यार्थी नै भएकाले उनीहरूको प्रतिभालाई उचित अवसर र मञ्च उपलब्ध गराउनु आवश्यक छ।
उनले जुनियर क्रिकेट लिग केवल प्रतियोगिता नभई नेपालको जरोस्तरको क्रिकेटलाई बलियो बनाउने अभियान भएको उल्लेख गर्दै विद्यालयदेखि प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटसम्म पुग्ने मार्ग निर्माण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए। प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीले खेल कौशलसँगै अनुशासन, इमान्दारी, सम्मान, नेतृत्व, सहनशीलता र खेलभावना जस्ता जीवनोपयोगी मूल्य सिक्ने अवसर प्राप्त गर्ने उनको भनाइ थियो।
खिम थापाले प्रतियोगिताका लागि ६ लाख १० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए। उक्त बजेट प्रतियोगिता सञ्चालन, प्राविधिक व्यवस्थापन, खेल सामग्री, उद्घाटन तथा समापन समारोह, प्रचार–प्रसार, आतिथ्यता र खेलाडी सम्मानमा खर्च गरिने उनले बताए। यो लगानी सहभागी विद्यालय र विद्यार्थीलाई व्यावसायिक स्तरको प्रतियोगिताको अनुभव दिलाउने उद्देश्यले गरिएको उनको भनाइ थियो।
प्रतियोगिताका प्राविधिक प्रमुख रविन्द्र गुप्ताले प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक मापदण्डअनुसार निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी दिए। उनले खेल सञ्चालन, अम्पायरिङ, स्कोरिङ तथा प्राविधिक व्यवस्थापनलाई व्यावसायिक ढंगबाट सञ्चालन गरिने उल्लेख गर्दै सहभागी सबै टोलीलाई उत्कृष्ट प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे।
प्रतियोगितामा विजेता टोलीले ३० हजार रुपैयाँ नगद, च्याम्पियन ट्रफी, स्वर्ण पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ नगद, ट्रफी, रजत पदक तथा प्रमाणपत्र पाउनेछन्। साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उदयीमान खेलाडी तथा फेयर प्ले अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, प्रशिक्षक, खेल संयोजक, विभिन्न विद्यालयका विद्यार्थी खेलाडी, अभिभावक, सञ्चारकर्मी तथा खेलकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार जुनियर क्रिकेट लिग केवल एउटा प्रतियोगिता मात्र नभई विद्यालयस्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने दीर्घकालीन अभियान हो। विद्यालय क्रिकेटलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउँदै भविष्यमा देशभरका विद्यालयलाई समेटेर प्रतियोगितालाई अझ व्यापक बनाउने लक्ष्य आयोजकले लिएको छ।

zcc


प्रतिक्रिया दिनुहोस्