रबिन थपलिया । काठमाडौं, साउन २० – बाग्मती प्रदेश सरकार गठनमा सहयोग गर्ने वा नगर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज औपचारिक निर्णय गर्ने भएको छ। यसका लागि राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १२:३० बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार बैठकमा बाग्मती प्रदेश सरकार गठनको पछिल्लो राजनीतिक अवस्था, सरकारमा सहभागी हुने वा बाहिरै बसेर समर्थन गर्ने अथवा समर्थन नै नगर्ने विषयमा विस्तृत छलफल हुनेछ। बैठकबाट सो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने जनाइएको छ।
बाग्मती प्रदेशमा सरकार गठनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सहमति भइसके पनि हालसम्म नयाँ सरकार गठन हुन सकेको छैन। सरकार गठन प्रक्रिया लम्बिँदा प्रदेशको राजनीतिक अवस्था अन्योलपूर्ण बनेको छ।
प्रदेशसभाको अंकगणित हेर्दा राप्रपाको समर्थनबिना एमाले नेतृत्वको सरकार गठन सहज नहुने अवस्था रहेको राजनीतिक वृत्तमा चर्चा छ। यही कारण राप्रपाको आजको निर्णयलाई बाग्मती प्रदेश सरकार गठनका लागि निर्णायक रूपमा हेरिएको छ।
यता एमालेभित्र पनि मुख्यमन्त्री चयनको विषयले विवाद सिर्जना गरेको छ। संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्रीका स्वाभाविक दाबेदार भए पनि भक्तपुरका प्रदेशसभा सदस्य किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने प्रयास भएपछि पार्टीभित्र मतभेद देखिएको स्रोतहरूको दाबी छ। यही आन्तरिक असहमतिले समेत सरकार गठन प्रक्रिया प्रभावित भएको बताइन्छ।
यसैबीच, वर्तमान मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको सरकारले नेपाल समाजवादी पार्टी (नेसपा) का शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिसकेका छन्। प्रदेशसभामा नेसपाका दुई जना मात्र सांसद रहे पनि सरकार विस्तारमार्फत सत्ता समीकरणलाई बलियो बनाउने प्रयास गरिएको विश्लेषण भइरहेको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टी सरकारमा सहभागी हुने विषयमा विशेष उत्साहित नरहेको संकेत गर्दै अन्तिम निर्णय भने केन्द्रीय कार्यसमितिको बैठकले गर्ने बताए। उनका अनुसार सरकारमा जाने, बाहिरै बसेर समर्थन गर्ने वा विपक्षमै रहने भन्ने विषयमा बैठकपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक हुनेछ।
आज बस्ने राप्रपाको बैठकबाट आउने निर्णयले बाग्मती प्रदेशको सत्ता समीकरण मात्र होइन, नयाँ सरकार गठनको प्रक्रिया समेत कुन दिशामा अघि बढ्ने भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्