टीभी अन्नपूर्णाको समाचारप्रति तारकेश्वर नगरपालिकाको खण्डन, ‘अमेरिकी दूतावास पुगेको पत्र’ सम्बन्धी समाचार तथ्यहीन रहेको दाबी

Sagarmatha Post
Sagarmatha Post २१ श्रावण २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौं । तारकेश्वर नगरपालिकाले टीभी अन्नपूर्णाबाट साउन २० गते प्रसारित ‘तारकेश्वर नगरपालिकाबाट अमेरिकी दूतावास पुगेको पत्रः सामान्य कमजोरी कि गम्भीर फौजदारी अपराध?’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले उक्त समाचारमा प्रस्तुत विषयवस्तु तथ्यहीन, भ्रामक तथा अपुष्ट रहेको दाबी गर्दै आधिकारिक रूपमा खण्डन सार्वजनिक गरेको हो।

नगरपालिकाका अनुसार अमेरिकास्थित American Group Psychotherapy Association (AGPA) ले आयोजना गरेको AGPA Connect 2024 अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तत्कालीन नगर प्रमुख कृष्णहरि महर्जन, वडा अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा सदस्य किशोर भण्डारी तथा सामाजिक परामर्शदाता सुशील फुँयाललाई संस्थागत रूपमा औपचारिक निमन्त्रणा प्राप्त भएको थियो। उक्त सम्मेलन मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम रहेको नगरपालिकाले स्पष्ट पारेको छ।

खण्डनपत्रमा सामाजिक परामर्शदाता सुशील फुँयाल यसअघि पनि International Association for Group Psychotherapy (IAGP) का सदस्यका रूपमा इटालीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भइसकेकाले सोही अनुभवका आधारमा तारकेश्वर नगरपालिकाका प्रतिनिधिहरूलाई पनि निमन्त्रणा प्राप्त भएको उल्लेख गरिएको छ।

नगरपालिकाले कार्यक्रमको समय नजिकिँदै जाँदा अमेरिकी दूतावासलाई भिसा अन्तर्वार्ताको मिति संशोधन (Revised Visa Appointment Date) का लागि अनुरोध गर्दै २०८० माघ २ गते पत्राचार गरेको जनाएको छ। तर, दूतावासबाट नगर प्रमुखलाई मात्रै जनवरी २१, २०२५ को अन्तर्वार्ता मिति प्राप्त भएको र त्यो मिति कार्यक्रम सम्पन्न भएको करिब एक वर्षपछि परेकाले प्रतिनिधिमण्डलका कोही पनि अमेरिका जान नसकेको स्पष्ट गरिएको छ।

नगरपालिकाले यस विषयमा कुनै पनि सरकारी खर्च, भ्रमण, वा अन्य गतिविधि नभएको उल्लेख गर्दै यसलाई मानव तस्करी, भिसा दुरुपयोग वा अन्य कुनै फौजदारी अपराधसँग जोड्नु निराधार भएको दाबी गरेको छ।

नगरपालिकाले अपुष्ट सूचना र अनुमानका आधारमा गम्भीर फौजदारी अपराधको आशय दिने गरी समाचार प्रकाशन तथा प्रसारण गर्नु जिम्मेवार पत्रकारिताको सिद्धान्तविपरीत भएको उल्लेख गर्दै सम्बन्धित सञ्चारमाध्यमलाई तथ्यसहित आवश्यक सत्यतथ्य र स्पष्टीकरण सार्वजनिक गर्न आग्रह गरेको छ। अन्यथा गलत, भ्रामक र प्रतिष्ठामा आँच पुग्ने सामग्रीविरुद्ध कानुनी प्रक्रिया अपनाइने चेतावनी पनि दिएको छ।

खण्डनको अन्त्यमा तारकेश्वर नगरपालिकाले आफू कानून, पारदर्शिता, सुशासन र सार्वजनिक उत्तरदायित्वप्रति सदैव प्रतिबद्ध रहेको जनाएको छ।

May be an illustration of ticket stub and text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्