रबिन थपलिया काठमाडौं, साउन २२। तारकेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न पहिलो ‘तारकेश्वर अन्तरविद्यालयस्तरीय पुरुष छात्र फुटबल प्रतियोगिता–२०८३’ को उपाधि सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित मिलन धर्मस्थली माध्यमिक विद्यालय ले जित्दै इतिहास रचेको छ। विद्यालयस्तरको फुटबल प्रतियोगिताको पहिलो संस्करणमै सामुदायिक, शैक्षिक गुठी र संस्थागत विद्यालयबीच उच्चस्तरीय प्रतिस्पर्धा देखिएको प्रतियोगिताले तारकेश्वरको विद्यालय खेलकुदमा नयाँ अध्याय सुरु गरेको छ।
टिप्टो स्पोर्ट्स हबमा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा मिलन धर्मस्थलीले संस्थागत विद्यालय सिर्जना ज्ञानसागर विद्यालय लाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलो तारकेश्वर कप आफ्नो नाममा लेखायो। खेलभर दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि मिलन धर्मस्थलीले अवसरको सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्न सफल भयो। सिर्जना ज्ञानसागरले एक गोल फर्काए पनि खेल आफ्नो पक्षमा पार्न सकेन।
उपाधिसँगै मिलन धर्मस्थलीले नगद रु. १० हजार, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता सिर्जना ज्ञानसागरले रु. ५ हजार, रजत पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान हासिल गरेको सामुदायिक विद्यालय ग्रामसेवा माध्यमिक विद्यालय ले कास्य पदक, ट्रफी तथा प्रमाणपत्र हात पार्यो।
प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ पनि मिलन धर्मस्थलीकै वर्चस्व रह्यो। सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) तथा उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) दुवै उपाधि मिलन धर्मस्थलीका तेन्जिङ तामाङ ले जिते। उत्कृष्ट गोलरक्षक शशी तामाङ र उत्कृष्ट प्रशिक्षक रविन गुरुङ पनि सोही विद्यालयबाट घोषित भए। उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) भने सिर्जना ज्ञानसागरका प्रिन्स थापा मगर घोषित भए। पाँचै विधाका विजेतालाई जनही रु. ५ हजार नगदसहित आकर्षक ट्रफी प्रदान गरिएको थियो।
विगतका वर्षहरूमा विद्यालयस्तरीय प्रतियोगितामा संस्थागत विद्यालयहरूको वर्चस्व रहने गरेको भए पनि यसपटकको नतिजाले नयाँ सन्देश दिएको छ। पहिलो स्थान शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालय, दोस्रो स्थान संस्थागत विद्यालय र तेस्रो स्थान सामुदायिक विद्यालयले हासिल गरेपछि विद्यालय फुटबलमा प्रतिस्पर्धा थप समावेशी बन्दै गएको देखिएको छ। पछिल्लो समय तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसँगै खेलकुद विकासमा समेत निरन्तर लगानी बढाउँदै लगेपछि सामुदायिक तथा शैक्षिक गुठीका विद्यालयहरू संस्थागत विद्यालयलाई समेत चुनौती दिन सक्ने अवस्थामा पुगेका छन्।
फाइनल खेलभर दुवै टोलीले अनुशासित र आकर्षक खेल प्रदर्शन गरेका थिए। दर्शकको उल्लेखनीय उपस्थितिबीच सम्पन्न खेलले प्रतियोगिताको स्तरलाई अझ उचाइमा पुर्याएको आयोजकको भनाइ छ।
प्रतियोगितालाई सफल बनाउन विभिन्न संघसंस्था, व्यवसायी तथा खेलप्रेमीहरूले उल्लेखनीय आर्थिक तथा भौतिक सहयोग गरेका थिए। निजी विद्यालयहरूको संगठन ओप्स ले विजेता टोलीका लागि रु. १० हजार तथा तेस्रो हुने टोलीका लागि रु. ३ हजार नगद पुरस्कार प्रायोजन गरेको थियो। उपविजेता टोलीका लागि प्रदान गरिएको रु. ५ हजार नगद पुरस्कार भने टिप्टो स्पोर्ट्स हबका सञ्चालक गौरव बस्नेत ले उपलब्ध गराएका थिए।
त्यस्तै, नेपाली फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष हेमप्रसाद भट्ट (सन्तोष) ले उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट प्रशिक्षकका लागि रु. २५ हजार नगद सहयोग उपलब्ध गराउनुभएको थियो। अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा अनुभवी प्रशिक्षकसमेत रहनुभएका भट्टले विद्यालयस्तरका खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गर्नुभएको हो।
अनुषा कुँवरको पहलमा पोखरास्थित शिवम् ज्वेलरी की प्रमिला कुँवर ले उत्कृष्ट खेलाडीहरूलाई प्रदान गरिने ट्रफी तथा सम्मानका लागि रु. १२ हजार सहयोग गर्नुभएको थियो। प्रतियोगिताको व्यवस्थापनका लागि तारकेश्वर नगर खेलकुद विकास समितिका उपाध्यक्ष सानुबाबु महर्जन ले करिब रु. १० हजार बराबरको मिनरल वाटर सहयोग उपलब्ध गराउनुभएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन ले तारकेश्वर कपलाई विद्यालयस्तरको खेल प्रतिभा पहिचान गर्ने महत्वपूर्ण अभियानका रूपमा अघि बढाइएको बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने भएकाले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी ले विद्यालयस्तरमै खेल संस्कृतिको विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल ले नगरपालिकाको नेतृत्व, दाताहरू र विभिन्न संघसंस्थाको सहकार्यका कारण नगरपालिकाको जम्मा दुई लाख रुपैयाँको लागतमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। शिक्षा प्रमुख सुदिनराज बुढाथोकी ले पनि विद्यालयमा खेलकुद गतिविधि विस्तार गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो।
तारकेश्वर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गी ले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान हरि खड्का, तारकेश्वर–११ का अध्यक्ष कबिराज बस्नेत, खेलकुद विकास समितिका सदस्य तथा एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापा, प्याब्सन काठमाडौंका उपाध्यक्ष धन पुन, सहसचिव शिव अर्याल, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, विभिन्न विद्यालयका प्रधानाध्यापक, प्रशिक्षक, खेलाडी, पत्रकार तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा प्रतियोगितामा सहभागी विद्यालय, प्रशिक्षक, व्यवस्थापन टोली तथा प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थाहरूलाई समेत सम्मान गरिएको थियो। पहिलो संस्करणमै उच्चस्तरीय प्रतिस्पर्धा, निजी क्षेत्र र दाताको सक्रिय सहकार्य तथा सीमित बजेटमा सफल व्यवस्थापनका कारण तारकेश्वर कप–२०८३ विद्यालयस्तरीय खेलकुदको सफल र अनुकरणीय नमुनाका रूपमा स्थापित भएको छ।


प्रतिक्रिया दिनुहोस्