कपिलवस्तु । शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह जंगलमा मृत अवस्थामा भेटिएका छन्।
६५ वर्षीय सिंह शुक्रबार दिउँसो कपिलवस्तु–३ स्थित आफ्नो घरबाट मोटरसाइकल लिएर निस्किएका थिए। करिब साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई मोबाइलमार्फत् ‘जंगलमा बाटो बिर्सिएँ’ भनेर जानकारी गराएका थिए।
त्यसपछि आफन्त तथा स्थानीयले उनको खोजी सुरु गरेका थिए। खोजीका क्रममा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।
सिंहको खोजीका लागि प्रहरीले व्यापक रूपमा खोजी अभियान सञ्चालन गरेको थियो। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसहितको प्राविधिक टोली परिचालन गर्नुका साथै ड्रोनबाट समेत जंगल क्षेत्रमा निगरानी गरिएको थियो। खोजी अभियानमा ठूलो संख्यामा स्थानीयवासीसमेत सहभागी भएका थिए।
प्रहरीका अनुसार दुई दिनदेखि निरन्तर खोजी भइरहेको क्षेत्रमा सिंहलाई आइतबार मृत अवस्थामा फेला पारिएको हो।
कपिलवस्तु प्रहरीका निमित्त सूचना अधिकारी दीपक कुँवरले खोजीका क्रममा सिंह मृत अवस्थामा फेला परेको जानकारी दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिंहको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्