रबिन थपलिया । काठमाडौं । विद्यालयस्तरबाट प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित एन्जल्स हार्ट नेशनल स्कुलको आयोजनामा सञ्चालन भइरहेको ‘जुनियर क्रिकेट लिग (जेसीएल)–२०८३ : इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता’ आजदेखि सुरु भएको छ।
तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित एन्जल्स स्पोट्र्स कम्प्लेक्स (ए–१ इन्डोर) मा प्रतियोगिता सुरु भएको हो। साउन २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता टी–१० इन्डोर क्रिकेटको लिग तथा नकआउट प्रणालीमा खेलाइँदैछ। प्रतियोगिताको व्यवस्थापन एन्जल्स स्पोट्र्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टरले गरेको छ भने नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाजले विशेष सहयोग गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उदघाटन गर्दै बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री शैलेन्द्रमान बज्राचार्यले सरकारले गर्नुपर्ने महत्वपूर्ण काम विद्यालयले गरिरहेको भन्दै एन्जल्स हार्ट नेशनल स्कुलको प्रशंसा गर्नुभयो । विद्यालय तहबाटै क्रिकेटको विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गर्नु सकारात्मक काम भएको उहाँको भनाइ थियो।

मन्त्री बज्राचार्यले क्रिकेट खेलको विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको स्पष्ट पादै प्रदेश सरकारको मातहतमा क्रिकेट खेलमैदान रहेकाले त्यसको विकास, विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि सम्बन्धित विद्यालय तथा खेलकुद क्षेत्रसँग सहकार्य गर्न सकिने बताउनुभयो ।
‘विद्यालयले सरकारले गर्नुपर्ने काम गरिरहेको छ। विद्यालय तहबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने र खेलको विकासका लागि वातावरण बनाउने काम आफैँमा महत्वपूर्ण छ,’ मन्त्री बज्राचार्यले भन्नुभयो, ‘क्रिकेट मैदानको भौतिक पूर्वाधार निर्माण तथा विकासका लागि प्रदेश सरकारबाट गर्न सकिने सहयोग र सहकार्यका विषयमा हामी सकारात्मक छौँ।’
उहाँले क्रिकेट खेलको प्रवद्र्धनका लागि विद्यालय, स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगिताको उदघाटन गर्ने क्रममा पहिलो बलमै राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शरद भेषावकर आउट भएपछि एन्जल्स हार्ट नेशनल स्कुलको ‘जुनियर क्रिकेट लिग–२०८३’ को उद्घाटन समारोह एकाएक रोमाञ्चक बन्यो। बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री शैलेन्द्रमान बज्राचार्यको ब्याटिङ र क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा काठमाडौं गोर्खाजका प्रमुख शरद भेषावकरको बलिङबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलले उपस्थित विद्यार्थी, अभिभावक र अतिथिमा उत्साह थप्यो।
एन्जल्स हार्ट नेशनल स्कुलका अध्यक्ष लिलबहादुर पुनको अध्यक्षतामा उद्घाटन सम्पन्न उदघाटन कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा काठमाडौं गोर्खाजका प्रमुख शरद भेषावकर, एन्जल्स स्पोट्र्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापा, एन्जल्स हार्ट नेशनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, अपेनकी केन्द्रीय उपाध्यक्ष रेखा शाही हमाल, कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक महेश महर्जन, प्रतियोगिताका प्राविधिक प्रमुख रविन्द्र गुप्ता, एनजल्र्स हार्ट नेश्नल स्कुलकी माध्यमिक कोअर्डिनेटर इमुकुमारी गुरुङ, प्राथमिक कोअर्डिनेटर सिर्जना बस्नेत, पूर्वप्राथमिक कोअर्डिनेटर सिमरन डंगोल, लेखा प्रमुख शर्मिला गिरीलगायतको उपस्थिति थियो।
प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ विद्यालयका २५० भन्दा बढी विद्यार्थी खेलाडी सहभागी छन्। विद्यालयस्तरमा क्रिकेटको आधार बलियो बनाउँदै नयाँ प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा डीएभी स्कुलका दुई टोलीसहित भ्याली पब्लिक स्कुल, एन्जल्स हार्ट नेशनल स्कुल, एन्जल्स हार्ट सेकेन्डरी स्कुल, क्रियटिभ एकेडेमी, केएमसी स्कुल, ज्ञानोदय बालबाटिका, त्रिलोक विद्यालय, नवोदित स्कुल, मानसिंह स्कुल, स्कलर्स होम एकेडेमी, हिमालयन ह्वाइट हाउस आईबी वल्र्ड स्कुल, चेल्सी वल्र्ड स्कुल, पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुल, आरम्भ एकेडेमी, जेम्स स्कुल, एसिया प्यासिफिक स्कुल, सत्य साई स्कुल, गम्भीर समुद्र सेतु माध्यमिक विद्यालय, प्यारामाउन्ट एकेडेमी, सेलिब्रेसन को–एड स्कुल, मनमैजु स्कुल तथा नेरिक एकेडेमी सहभागी छन्।
एन्जल्स हार्ट नेशनल स्कुलका प्रधानाध्यापक टकबहादुर थापाले विद्यालय क्रिकेटको दिगो विकास, नयाँ प्रतिभाको पहिचान तथा भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख १० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले ३० हजार रुपैयाँ नगदसहित च्याम्पियन ट्रफी, स्वर्ण पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २० हजार रुपैयाँ नगद, ट्रफी, रजत पदक तथा प्रमाणपत्र पाउनेछन्। यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उदयीमान खेलाडी तथा फेयर प्ले अवार्डसमेत प्रदान गरिनेछ।
आजदेखि सुरु भएको प्रतियोगिताका खेलहरू साउन २८ गतेसम्म सञ्चालन हुनेछन्।




प्रतिक्रिया दिनुहोस्