हिसान एसएलसी सम्मान–२०८३ सम्पन्न, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानीत

Sagarmatha Post
Sagarmatha Post २७ श्रावण २०८३, बुधबार
6 Min Read
Aa

काठमाडौं । विद्यार्थीको शैक्षिक सफलता केवल किताबको ज्ञान, परीक्षा र जीपीएमा सीमित नभई व्यवहारिक ज्ञान, सीप, सिर्जनशीलता, अनुशासन र जीवनोपयोगी क्षमतासँग जोडिनुपर्नेमा शिक्षासँग सम्बन्धित सरोकारवालाहरूले जोड दिएका छन्।

तारकेश्वरमा आयोजित हिसान एसएलसी सम्मान–२०८३ कार्यक्रममा हिसानमा आबद्ध विद्यालयबाट उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिएको छ। कार्यक्रममा विद्यार्थीको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।

कार्यक्रममा बोल्दै काठमाडौं जिल्ला शिक्षा सम्बन्धी प्रमुख सुरेशराज जोशीले विद्यार्थीलाई किताबको ज्ञान र जीपीए प्राप्त गर्ने प्रतिस्पर्धामा मात्र सीमित नगरी व्यवहारिक तथा जीवनोपयोगी शिक्षा दिनुपर्ने बताए। उनले बदलिँदो समयअनुसार शिक्षण–सिकाइ पद्धतिमा पनि परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीले किताबमा कति पढे र परीक्षामा कति जीपीए ल्याए भन्ने मात्र शिक्षाको सफलता नभएको बताए।

विद्यार्थीले आफूले सिकेको ज्ञानलाई व्यवहारमा कति प्रयोग गर्न सके भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाइ थियो। प्रविधिको सही र सिर्जनात्मक प्रयोगमार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप, अनुसन्धान र सिर्जनशीलतातर्फ अघि बढाउनुपर्ने उनले बताए।

“किताब र जीपीए महत्वपूर्ण भए पनि त्यतिमै शिक्षा सीमित हुनु हुँदैन। विद्यार्थीले सिकेको कुरा जीवनमा प्रयोग गर्न सक्ने र प्रविधिको सदुपयोग गर्दै नयाँ सिर्जना गर्न सक्ने बनाउनुपर्छ,” जोशीले भने।

उनले बालबालिकामाथि अंक र ग्रेडको अनावश्यक दबाब थोपर्नुभन्दा उनीहरूलाई खुसी र रमाइलो वातावरणमा सिक्ने अवसर प्रदान गर्नुपर्ने बताए। विद्यार्थीलाई प्रश्न गर्न, नयाँ कुरा खोज्न, प्रयोग गर्न, गल्तीबाट सिक्न र आफ्नो रुचिअनुसार अघि बढ्न सक्ने वातावरण निर्माण गर्नु आजको शिक्षाको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदीनराज बुढाथोकीले एसएलसी उत्तीर्ण विद्यार्थीलाई आगामी जीवनमा पनि निरन्तर उत्कृष्टता हासिल गर्न सुझाव दिए। एसएलसी उत्तीर्ण गर्नु जीवनको महत्वपूर्ण खुड्किलो भए पनि वास्तविक सफलता त्यसपछिको यात्रा र निरन्तरको मेहनतबाट प्राप्त हुने उनले बताए।

विद्यार्थीलाई अंक, जीपीए र प्रमाणपत्रमा मात्र सीमित नभई ज्ञान, सीप, व्यवहार, अनुशासन र सिर्जनशीलतालाई जीवनको आधार बनाउन आग्रह गर्दै बुढाथोकीले बदलिँदो समयअनुसार प्रविधिको सदुपयोग गर्दै प्राप्त शिक्षालाई व्यवहारमा उतार्न सके मात्र शिक्षा सार्थक हुने बताए।

कार्यक्रममा हिसान काठमाडौंका अध्यक्ष गोविराज पराजुलीले तारकेश्वर नेपालमै पहिलोपटक हिसान नगर समिति गठन भएको स्थान रहेको उल्लेख गर्दै तारकेश्वरको शैक्षिक क्षेत्रको आफ्नै विशेष महत्व रहेको बताए। उनले तारकेश्वरको शैक्षिक नतिजा अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा विद्यार्थीको उपलब्धिलाई अझ उचाइमा पुर्‍याउन निरन्तर प्रयास आवश्यक रहेको धारणा राखे।

त्यस्तै, हिसान तारकेश्वरका सल्लाहकार तथा ओप्सका अध्यक्ष लोकेन्द्र खड्काले विद्यार्थीले अझ राम्रो नतिजा ल्याउन विद्यालयको प्रयाससँगै घरपरिवारको भूमिका पनि महत्वपूर्ण हुने बताए। बदलिँदो समयअनुसार धेरै कुरामा सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले शिक्षण–सिकाइसँगै घरको वातावरणमा समेत सकारात्मक परिवर्तन आवश्यक रहेको बताए।

खड्काले तारकेश्वरको शैक्षिक नतिजा प्रशंसनीय रहेको उल्लेख गर्दै विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालय र अभिभावकबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको धारणा राखे।

May be an image of dais and text that says 'ALO 385946 DiYALO'

कार्यक्रममा बोल्दै हिसान तारकेश्वरका अध्यक्ष लीलबहादुर पुनले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरूलाई बधाई दिँदै सम्मानित हुनु आफैंमा महत्वपूर्ण उपलब्धि भए पनि यसलाई आगामी यात्राको सुरुवातका रूपमा लिनुपर्ने बताए। उनले विद्यार्थीको सफलतामा विद्यालयको मेहनतसँगै शिक्षक, अभिभावक, विद्यार्थी र समग्र शैक्षिक वातावरणको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

पुनले तारकेश्वरमा शैक्षिक क्षेत्रमा पछिल्लो समय उत्साहजनक उपलब्धि हासिल हुँदै आएको बताउँदै यसलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिए। विद्यार्थीलाई केवल परीक्षामुखी नभई व्यवहारिक, अनुशासित, सिर्जनशील र आत्मनिर्भर बनाउन विद्यालयहरूले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उनले सम्मानित विद्यार्थी तथा शिक्षकहरूलाई आगामी दिनमा पनि उत्कृष्टताको यात्रालाई निरन्तरता दिन आग्रह गर्दै तारकेश्वरको शैक्षिक पहिचानलाई थप उचाइमा पुर्‍याउन हिसानमा आबद्ध विद्यालयहरूबीच सहकार्य र अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताए।

कार्यक्रममा काठमाडौं जिल्ला प्याव्सनका उपाध्यक्ष धनबहादुर पुन,तारकेश्वर प्याव्सनका अध्यक्ष गोपाल बुढाथोकी, हिसानका सल्लाहकार जुद्ध बहादुर पुन, कोषाध्यक्ष सुस्मा श्रेष्ठ, सह सचिब तथा कार्यक्रम संयोजक बद्रिनाथ भट्ट, सह कोषाध्यक्ष राजेश रायमाझी, लालिगुराँस स्कुलका संचालक सम्भु आचार्य, कामना कलेजका प्रशासकीय प्रमुख बिष्णु खनाल लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रमको सञ्चालन हिसान तारकेश्वरका सचिव कमल ज्ञवालीले गरेका थिए। कार्यक्रममा हिसान तारकेश्वरका उपाध्यक्ष शिव अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै हिसान तारकेश्वरमा सहभागी तथा उपस्थित सबैलाई स्वागत गरे। उनले तारकेश्वरको शैक्षिक नतिजा उत्साहजनक तथा प्रशंसनीय रहेको बताउँदै यस उपलब्धिमा विद्यालय, विद्यार्थी, अभिभावक तथा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। अर्यालले शैक्षिक क्षेत्रको सुधार र विकासका लागि तारकेश्वर नगरपालिकाले राम्रो सहयोग गर्दै आएको भन्दै नगरपालिकाप्रति धन्यवाद व्यक्त गरे।कार्यक्रम लीलबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो अवसरमा हिसानमा आबद्ध विद्यालयका ८ जना शिक्षकले शिक्षा सेवा पदक प्राप्त गरेका छन् । कौशर स्कुलका राजु अधिकारी, प्रारम्भ वल्डका पदमनाथ फुंयाल, लालिगुराँस स्कुलका राम बिजय यादब, ल्याडमार्क एकेडेमीका राजु श्रेष्ठ, एन्जल्स हार्टका बालकृष्ण सुवेदी, हिम रश्मी का शिव बहादुर थापा, सृजना ज्ञानसागरका दिपक जिम्बा र सेक्रेट हार्टका केशव प्रसाद रेग्मी सम्मानीत भए ।

कार्यक्रममा हिसानमा आबद्ध विभिन्न विद्यालयका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्