काठमाडौं । सर्वसाधारणले बजारमा खाना पकाउने ग्यास पाउन सास्ती खेपिरहेका बेला काठमाडौंको पाँचतारे रेडिसन होटल परिसरमा ठूलो परिमाणमा ग्यास सिलिन्डर अनधिकृत रूपमा मौज्दात राखिएको फेला परेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको आकस्मिक अनुगमनका क्रममा होटल परिसरबाट १८४ वटा भरिएका ग्यास सिलिन्डर फेला पारेको हो।
विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा र एसटीसी ग्यासका ६७ वटा भरिएका सिलिन्डर अनधिकृत रूपमा भण्डारण गरिएको अवस्थामा भेटिएका छन्। त्यस्तै, होटलका विभिन्न चुलोमा थप करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको अवस्थामा फेला परेको विभागले जनाएको छ।
बजारमा पर्याप्त मात्रामा ग्यास आयात तथा आपूर्ति भइरहेको दाबी भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि विभागले ठूला होटल तथा व्यावसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो। सोही क्रममा गरिएको आकस्मिक अनुगमनमा रेडिसन होटलमा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको भेटिएको हो।
सर्वसाधारण उपभोक्ता ग्यासको अभावमा लाइन बस्नुपर्ने र कतिपय अवस्थामा महँगो मूल्य तिर्नुपर्ने अवस्था रहेका बेला पाँचतारे होटलमा सयौं सिलिन्डर भण्डारण भेटिएपछि सरकारी अनुगमनप्रति पनि प्रश्न उठेको छ।
विभागले ग्यासको अनधिकृत भण्डारण तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। होटलमाथि प्रचलित कानुनअनुसार कारबाहीको तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।
सरकारले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्तालाई अभाव झेल्न बाध्य पार्ने होटल, व्यावसायिक प्रतिष्ठान तथा अन्य व्यवसायीले अनधिकृत रूपमा ग्यास सञ्चित गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ।
उपभोक्ताको दैनिक आवश्यकतासँग प्रत्यक्ष जोडिएको खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्ने वा अनधिकृत रूपमा ठूलो परिमाणमा भण्डारण गर्ने प्रवृत्तिविरुद्ध अनुगमनलाई थप तीव्र बनाउने विभागले जनाएको छ।
समाचारमा प्रयोग भएको तस्वीर एआईबाट बनाईएको हो ।


प्रतिक्रिया दिनुहोस्