रबिन थपलिया । काठमाडौं । विद्यालयस्तरबाट क्रिकेटका सम्भावना बोकेका प्रतिभाहरूलाई पहिचान गर्दै उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमार्फत राष्ट्रिय क्रिकेटको आधारस्तरसम्म पुर्याउने उद्देश्यसहित आयोजना गरिएको ‘जुनियर क्रिकेट लिग (जेसीएल)–२०८३ : इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता’ को उपाधि जेम्स स्कुल धापाखेल, ललितपुरले जितेको छ।
तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्स (ए–१ इन्डोर) मा भएको रोमाञ्चक फाइनलमा जेम्स स्कुलले डिएभी निलो टिमलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै जेम्सले नगद ३० हजार रुपैयाँ, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताको उपविजेता बनेको डिएभी ब्लु टिमले नगद २० हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र हात पारेको छ। विद्यालय तहमा क्रिकेटको प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यार्थी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै भविष्यमा राष्ट्रियस्तरमा उदाउने सम्भावनाको संकेत दिएका छन्।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि डिएभी ब्लुले प्रभावशाली प्रदर्शन गरेको छ। बेस्ट ब्याट्सम्यान तथा बेस्ट प्लेयरको उपाधि डिएभी ब्लुका कमल शाहीले हात पारे। त्यस्तै बेस्ट बलरको उपाधि हिमालय ह्वाइटहाउसका रिमम अधिकारीले जित्दा इमर्जिङ प्लेयरको उपाधि आयोजक एन्जल्स हार्ट नेशनल स्कुलका अभिषेक कठायतले प्राप्त गरे।
प्रतियोगिताको फेयर प्ले अवार्ड तारकेश्वरको सामुदायिक विद्यालय मानसिंह धर्मको टोलीले जितेको छ। खेल कौशलसँगै अनुशासन, खेलभावना र मर्यादित प्रतिस्पर्धालाई आधार मानेर प्रदान गरिएको यो अवार्डले विद्यालयस्तरको क्रिकेटमा खेल संस्कारको महत्त्वसमेत उजागर गरेको छ।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई काठमाडौं गोर्खाजका ओनर अनुभव सिरोहियासहित उपस्थित अतिथिहरूले पुरस्कार, शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।
पुरस्कार वितरण समारोहमा एन्जल्स हार्ट नेशनल स्कुलका अध्यक्ष तथा तारकेश्वर हिसानका अध्यक्ष लिलबहादुर पुन, प्याब्सन काठमाडौंका उपाध्यक्ष धनबहादुर पुन, पोखरा एभेन्जर्सका अपरेसन हेड किरण जेबी राना, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष तथा तारकेश्वर खेलकुद विकास समितिका सदस्य खिम थापा, एन्जल्स हार्ट नेशनल स्कुलका प्रिन्सिपल टक थापा, अम्बे ग्रुपका सीईओ सन्तोष भण्डारी, भेट्रान्स खेलाडी उदय थापा तथा मेटलाइफका कन्ट्री हेड विकास सिंहल,कराँतेका अन्तराष्ट्रिय प्रशिक्षक महेश महर्जन,गायतको उपस्थिति थियो।
साउन २४ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ विद्यालयका २५० भन्दा बढी विद्यार्थी खेलाडी सहभागी थिए। प्रतियोगिता टी–१० इन्डोर क्रिकेटको लिग तथा नकआउट प्रणालीमा सञ्चालन गरिएको थियो।
प्रतियोगिताको व्यवस्थापन एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरले गरेको थियो भने नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाजले विशेष सहयोग गरेको आयोजकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्