तारकेश्वरमा आइतबार विद्यालय सञ्चालनको पक्षमा चार संगठन

Sagarmatha Post
Sagarmatha Post ३१ श्रावण २०८३, आईतवार
3 Min Read
Aa
रबिन थपलिया । काठमाडौं, तारकेश्वर नगरपालिकाले चालु शैक्षिक सत्रदेखि आइतबारसमेत विद्यालय सञ्चालन गर्ने निर्णयलाई तारकेश्वरमा क्रियाशील चार प्रमुख शैक्षिक संगठनले सकारात्मक रूपमा लिँदै त्यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।
प्याब्सन तारकेश्वर, एनप्याब्सन तारकेश्वर, हिसान तारकेश्वर र अपेन तारकेश्वरले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहले स्थानीय आवश्यकता, भूगोल, अभिभावकको अवस्था तथा विद्यार्थीको हितलाई ध्यानमा राखेर गरेको निर्णयलाई केन्द्रको नाममा जबर्जस्ती रोक्न नहुने धारणा सार्वजनिक गरेका हुन्।
प्याब्सन तारकेश्वरका अध्यक्ष गोपाल बुढाथोकीले संयुक्त विज्ञप्तिबारे जानकारी दिँदै तारकेश्वर नगरपालिकाको निर्णयलाई चारै संगठनले सकारात्मक रूपमा लिएको बताए। उनका अनुसार विद्यालय सञ्चालनको विषयमा देखिएका विभिन्न धारणालाई संवाद र छलफलमार्फत सम्बोधन गर्दै विद्यार्थीको हितमा गरिएको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ।
चार संस्थाका अनुसार तारकेश्वर नगरपालिकाले निजी विद्यालय सञ्चालक तथा अभिभावकको अनुरोधलाई समेत मध्यनजर गर्दै आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। उक्त निर्णय निजी विद्यालय सञ्चालकको मात्र मागका आधारमा नभई सामुदायिक विद्यालय तथा अन्य सरोकारवालासँग आवश्यक छलफल गरेपछि गरिएको वक्तव्यमा स्पष्ट पारिएको छ।
संयुक्त वक्तव्यमा आइतबार बिदा दिँदा पाठ्यक्रममा समेटिएका विषयवस्तु पूरा गर्न थप समय लाग्ने, अत्यावश्यकबाहेकका केही अंश गृहकार्यका रूपमा दिनुपर्ने अवस्था आउने तथा विद्यालयमा कम्तीमा २२० दिन पठनपाठन हुनुपर्ने भएकाले त्यसलाई पूरा गर्न प्रचलित बिदामा समेत कटौती गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख छ। यस्तो विषयमा समेत पर्याप्त छलफल आवश्यक रहेको चार संस्थाको भनाइ छ।
त्यस्तै दैनिक ज्याला–मजदुरी तथा व्यवसायमा संलग्न अभिभावकहरूले आइतबार बिदा हुँदा आफ्ना बालबालिकाको हेरचाह गर्न कठिनाइ भोग्नुपर्ने तर्कसमेत अघि सारिएको छ। विद्यालयमा नियमित निगरानी नहुँदा बालबालिका सम्भावित दुर्घटना तथा विभिन्न कुलतमा फस्न सक्ने जोखिमतर्फ समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
विद्यालय तहका बालबालिकामा बढ्दो मोबाइल प्रयोगप्रति समेत संयुक्त वक्तव्यमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। मोबाइलको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धिमा असर पारिरहेको उल्लेख गर्दै विश्वका धेरै विकसित देशहरूले १६ वर्षमुनिका बालबालिकाको पहुँचबाट मोबाइललाई नियन्त्रण गर्ने निर्णय गरिरहेको सन्दर्भ वक्तव्यमा प्रस्तुत गरिएको छ। नेपालमा समेत आइतबार विद्यालय बिदा दिँदा बालबालिकाले मोबाइललाई उत्पादनशीलभन्दा अनुत्पादक प्रयोजनमा प्रयोग गर्ने र त्यसको कुलतमा फस्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ।
विद्यालय सञ्चालक तथा अभिभावकहरूले समेत आइतबार विद्यालय बिदा हुँदा बालबालिकाको रेखदेख गर्न कठिन हुने, सम्भावित दुर्घटना तथा कुलतमा पर्न सक्ने जोखिम रहने भन्दै विद्यालय सञ्चालन गर्न उपयुक्त हुने धारणा लिखित तथा मौखिक रूपमा प्रस्तुत गरेको वक्तव्यमा उल्लेख गरिएको छ।
चार संस्थाले शिक्षा क्षेत्रमा कुनै पनि निर्णय गर्दा त्यसबाट समाजमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावको गम्भीर मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। उनीहरूले सम्पूर्ण सरोकारवालासँग पर्याप्त छलफल गरी सबैले निर्णयको अपनत्व ग्रहण गर्ने वातावरण निर्माण गरेर मात्र सरकारले निर्णय लिनुपर्ने धारणा अघि सारेका छन्।
वक्तव्यमा तारकेश्वर नगरपालिकाले स्थानीय सरोकारवालासँग छलफल गरेर शैक्षिक सत्रका लागि निर्णय गरिसकेको अवस्थामा यस पालिकालाई मात्र केन्द्रित गरेर जबर्जस्ती विद्यालय बन्द गराउने परिस्थिति सिर्जना गर्नुको सट्टा सबैको राय–सुझाव लिएर उपयुक्त समयदेखि निर्णय लागू गर्ने वातावरण बनाउनुपर्ने स्पष्ट धारणा राखिएको छ।
May be an image of blueprint and text
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्