काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
सोमबार पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।दुर्घटनामा खानीखोला गाउँपालिका–१ का कलबहादुर माझी र खानीखोला–२ की पातलीमाया मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।जिपमा सवार ताराबहादुर माझीले भने दुर्घटनाका क्रममा हाम फालेर ज्यान बचाएका छन्। उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार तथा उपचारका लागि हेलिकप्टर झिकाउने विषयमा समन्वय भइरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिएका छन्।घटनास्थलमा उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले बताएका छन्।प्रारम्भिक अनुसन्धानका क्रममा जिपको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
समाचारमा प्रयोग भएको एआई तस्वीर हो ।


प्रतिक्रिया दिनुहोस्