काठमाडौं । पश्चिम नवलपरासीमा एक विद्यालयका प्रधानाध्यापकलाई छात्रालाई सामाजिक सञ्जालमार्फत अश्लील सन्देश पठाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
सुस्ता गाउँपालिका–१, सिंगाहास्थित न्यू लाइफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक भरत न्यौपानेलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रधानाध्यापक न्यौपानेले रातिको समयमा म्यासेन्जरमार्फत एक छात्रालाई अश्लील प्रकृतिका सन्देश पठाउने गरेको आरोपमा उजुरी परेको थियो। उजुरीपछि प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिएका छन्।
पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ। उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पीडित छात्रा नाबालिग रहेकाले प्रहरीले उनको पहिचान सार्वजनिक गरेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा अहिलेसम्म छात्रामाथि भौतिक रूपमा यौनहिंसा भएको पुष्टि हुने विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म एक जना विद्यार्थीबाट मात्र उजुरी परेको छ। केही समययता छात्रालाई अश्लील सन्देश पठाउने गरेको आरोपमा अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले बताएका छन्।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले प्रधानाध्यापकको मोबाइल फोन फरेन्सिक परीक्षणका लागि पठाउने तयारी गरेको छ। मोबाइल परीक्षणको रिपोर्ट तथा अन्य प्रमाणका आधारमा घटनाबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्