काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि दुई जना पत्रकार सम्पर्कविहीन भएका छन् भने एक जना पत्रकारका परिवारका पाँच सदस्य बेपत्ता भएका छन् ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अनुसार शाखासँग आबद्ध पत्रकार शेखर ढुंगाना सम्पर्कविहीन भएका हुन् । मानसरोवर भ्रमणका क्रममा रहेका ढुंगानासँग बाढीपछि सम्पर्क हुन नसकेको जानकारी महासंघ भक्तपुर शाखाले दिएको छ ।
त्यस्तै, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी पनि रसुवाको केरुङबाट सम्पर्कविहीन भएका छन् । भोटेकोशी नदीमा आएको बाढीपछि थामीसँग सम्पर्क विच्छेद भएको बताइएको छ ।
बाढीका कारण पत्रकार निराजन पौडेलको परिवारका पाँच जना सदस्यसमेत सम्पर्कविहीन भएका छन् । पौडेल नेपाल पत्रकार महासंघ रसुवा शाखाका सदस्य तथा रातोपाटीमा कार्यरत पत्रकार हुन् ।
पौडेलका बुवा, आमा, काका, काकी र बहिनी गरी पाँच जना सदस्य बाढीपछि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ ।
भोटेकोशीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण सडक, पुल, बस्ती तथा नदी आसपासका संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरणहरू सार्वजनिक भइरहेका छन् ।
पत्रकार महासंघले सम्पर्कविहीन पत्रकार तथा बेपत्ता परिवारका सदस्यहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय र प्रभावकारी खोजी कार्य अघि बढाउन आग्रह गरेको छ ।
घटनापछि पत्रकारिता क्षेत्रसमेत शोक र चिन्तामा परेको छ । सम्पर्कविहीन पत्रकार तथा बेपत्ता परिवारका सदस्यहरूको अवस्था यथाशीघ्र पत्ता लगाई उद्धार गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनले तीव्र खोजी अभियान सञ्चालन गर्नुपर्ने माग भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्