बागमतीमा राप्रपाको अनुशासनको डण्डा, तीन सांसदलाई ७२ घण्टाभित्र जवाफ दिन आदेश

Sagarmatha Post
Sagarmatha Post २१ भाद्र २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशनविपरीत बागमती प्रदेश सरकार गठनको पक्षमा मतदान गरेको भन्दै आफ्ना तीन प्रदेशसभा सदस्यसँग स्पष्टीकरण मागेको छ।

राप्रपाको अनुशासन समितिले प्रदेशसभा सदस्यहरू मोनिका श्रेष्ठ, डम्बर तामाङ र नुरज बज्राचार्यलाई ७२ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

बागमती प्रदेशमा सरकार गठनका क्रममा पार्टीले आफ्ना सांसदहरूलाई सरकार निर्माण प्रक्रियामा सहभागी नहुन तथा विपक्षमा रहन ह्वीप जारी गरेको थियो। तर, तीन सांसदले उक्त निर्देशनको उल्लंघन गर्दै मुख्यमन्त्रीको पक्षमा मतदान गरेको राप्रपाको आरोप छ।

पार्टीको अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीले पठाएको पत्रमा पार्टीको निर्णयविपरीत प्रदेश सरकार गठन प्रक्रियामा सहभागी भएर समर्थनमा मतदान गर्नुको कारण स्पष्ट पार्न भनिएको छ।

राप्रपाले आफ्नो विधानअनुसार उनीहरूमाथि कारबाही किन नगर्ने भन्ने विषयमा समेत स्पष्टीकरण मागेको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गर्ने तथा पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गर्न सकिने संकेत राप्रपाले दिएको छ।

यसअघि बागमती प्रदेश सरकार गठनका विषयमा पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि पनि राप्रपाले कारबाही प्रक्रिया अघि बढाइसकेको थियो। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले थापालाई प्रदेशसभा सदस्य पदबाट हटाउन सिफारिस गर्नुका साथै साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

यसैबीच, बागमती प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने र नदिने सांसदलाई लिएर राप्रपाभित्र अनुशासनसम्बन्धी कारबाहीको प्रक्रिया तीव्र बनेको छ। केही दिनअघि पार्टीका प्रमुख सचेतक डम्बर तामाङले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पाँच सांसदसँग समेत स्पष्टीकरण मागेका थिए।

पार्टीको ह्वीप र सांसदहरूको मतदान व्यवहारलाई लिएर राप्रपाभित्र देखिएको विवादले बागमती प्रदेशको राजनीतिक समीकरण थप पेचिलो बनेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्