नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका १४१ परिवारलाई लायन्स क्लब अफ काठमाडौं ओमकारले राहत सामग्री वितरण गरेको छ।
क्लबले स्थानीय तह तथा जनप्रतिनिधिसँगको समन्वयमा वास्तविक पीडित परिवारको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा राहत सामग्री प्रत्यक्ष घरपरिवारसम्म पुर्याएको जनाएको छ। बाढीबाट घर, खेतीयोग्य जमिन, पशुधन, खाद्यान्न तथा दैनिक जीवनयापनका सामग्रीमा क्षति पुगेका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको हो।
राहतमा खाद्यान्न, दैनिक उपभोग्य सामग्री, सरसफाइका सामग्री तथा बालबालिका र महिलाका कपडालगायत अत्यावश्यक सामग्री समावेश गरिएको थियो।
विदुर नगरपालिका–३ का ६१ र वडा नं. ६ का ८० परिवार राहतका लाभग्राही बनेका छन्। वडा नं. ३ मा बाढीका कारण खेतीयोग्य जमिन, गाईवस्तु तथा अन्य पशुधनमा क्षति पुगेका परिवारलाई प्राथमिकतामा राखिएको थियो। त्यस्तै वडा नं. ६ मा खेतीयोग्य जमिन, पशुधन तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराइएको क्लबले जनाएको छ।
बाढीका क्रममा सम्पर्कविहीन भएका व्यक्तिका परिवारलाई समेत मानवीय आधारमा राहत वितरण गरिएको छ। विदुर–३ का दुई परिवारका सदस्य तथा वडा नं. ६ का एक परिवारलाई पनि राहत सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ।
राहत वितरण कार्यक्रमको औपचारिक शुभारम्भ लायन राजन लाम्साल, पीएमजेएफ तथा इन्टरनेसनल डाइरेक्टर र लायन सूर्यकुमार केसी, लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईका गभर्नरले संयुक्त रूपमा गरेका थिए। उनीहरूले राहत सामग्री बोकेको सवारीसाधनमा सामग्री लोड गरी कार्यक्रमको सुरुवात गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ओमकारका पदाधिकारी तथा सदस्य, विभिन्न लायन्स क्लबका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो। सहभागीहरूले प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्दै राहत सामग्री लक्षित परिवारसम्म पुर्याउन सहजीकरण गरेका थिए।
क्लबका चार्टर प्रेसिडेन्ट लायन रामहरि सिलुवाल, एमजेएफले बाढीपछि क्षतिग्रस्त पुल तथा सडकका कारण नदीपारिका बस्तीमा राहत पुर्याउन चुनौती भए पनि वास्तविक पीडितसम्म सहयोग पुर्याउन क्लब प्रतिबद्ध रहेको बताए।
“राहत वितरणलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई वास्तविक पीडित परिवारको आवश्यकता सम्बोधन गर्ने मानवीय जिम्मेवारीका रूपमा लिएका छौँ,” उनले भने, “स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर पीडितको अवस्था पहिचान गरी आवश्यक सामग्री प्रत्यक्ष रूपमा परिवारसम्म पुर्याएका छौँ।”
कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ काठमाडौं ओमकारका कोषाध्यक्ष लायन मधुसुधन रिमालले तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापना आवश्यक रहेको बताए।
उनका अनुसार बाढीले कतिपय परिवारको घर मात्रै नभई खेतीयोग्य जमिन, पशुधन र जीविकोपार्जनका आधारसमेत गुमेको छ। तत्काल उपलब्ध गराइएको राहतले केही समयको आवश्यकता पूरा गरे पनि प्रभावित परिवारलाई पुनः आत्मनिर्भर बनाउन दीर्घकालीन सहयोग आवश्यक रहेको उनको भनाइ छ।
क्लबले आगामी दिनमा समेत सम्भव भएसम्म बाढी प्रभावित परिवारको पुनःस्थापना तथा जीविकोपार्जनमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्