रबिन थपलिया । काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको छ। काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते स्थानीय अनुकूलताअनुसार सम्पन्न गर्ने व्यवस्था गरिएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा भने आज ११ वडामध्ये ९ वटा वडामा काँग्रेसको वडा अधिवेशन हुँदैछ। वडा नं. ७ र १० मा भने अधिवेशन भोलि हुने तय भएको नेपाली काँग्रेस तारकेश्वर नगर समितिका सचिव राजु फुंयालले जानकारी दिनुभयो।
आज हुने अधिवेशनअन्तर्गत वडा नं. १ को वडा कार्यसमितिको कार्यालय, वडा नं. २ को वडा कार्यसमितिको कार्यालय, वडा नं. ३ को तीनपिप्ले महिला सहकारी भवन, वडा नं. ४ को जयनेपाल चोक, वडा नं. ५ को नेचर भ्यु रिसोर्ट, वडा नं. ६ को साझा पार्टी प्यालेस, वडा नं. ८ को निर्भाना क्याफे गैरीगाउँ, वडा नं. ९ को सामुदायिक भवन मनमैजु र वडा नं. ११ को टिप्टो फुटसलमा अधिवेशन हुँदैछ।
सचिव फुंयालका अनुसार वडा अधिवेशनबाट नेतृत्व चयनका लागि सकेसम्म सर्वसम्मतिको प्रयास भइरहेको छ। स्थानीय तहमा नेतृत्व चयनसँगै क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया पनि अघि बढ्नेछ।
तर अधिवेशन सुरु हुनै लाग्दा तारकेश्वरका केही वडामा भने क्रियाशील सदस्यको नामावली नै प्राप्त नभएको गुनासो आएको छ।
नेपाली काँग्रेस तारकेश्वर वडा नं. ६ कार्यसमितिका प्रवक्ता सुजीत तिमिल्सिनाले अहिलेसम्म क्रियाशील सदस्यको नामावली प्राप्त नभएको बताउनुभयो।
उहाँले काँग्रेसले युवा नेतृत्व पाए पनि क्रियाशील सदस्यताको विषयमा देखिँदै आएको पुरानो समस्या अझै हट्न नसकेको गुनासो गर्नुभयो।
यता, नेपाली काँग्रेस तारकेश्वर नगरसभापति एवं तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले केन्द्रको निर्देशनअनुसार तारकेश्वरका सबै वडामा अधिवेशनको तयारी गरिएको बताउनुभयो।
आज अधिवेशन हुन नसकेका वडा नं. ७ र १० मा भोलि अधिवेशन सम्पन्न गरिने उहाँको भनाइ छ।
यससँगै तारकेश्वरमा वडा अधिवेशनमार्फत नयाँ वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्ने भएको छ। वडा तहबाट सुरु भएको यो प्रक्रिया क्रमशः पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै १५औँ महाधिवेशनतर्फ अघि बढ्नेछ। नेपाली काँग्रेसको आधिकारिक कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ।


प्रतिक्रिया दिनुहोस्