तारकेश्वर कांग्रेसमा तिमिल्सिना–खड्गी समूहको वर्चस्व कायमै,तारकेश्वर नगर सभापतिमा श्याम सापकोटाको प्यानलै विजयी,

Sagarmatha Post
Sagarmatha Post ८ आश्विन २०८३, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न तारकेश्वर नगर अधिवेशनबाट श्यामकृष्ण सापकोटा नगर सभापतिमा निर्वाचित भएका छन्। सापकोटासहित उनको प्यानलका उम्मेदवारहरूले नगर कार्यसमितिका प्रमुख पदमा विजय हासिल गरेका छन्।

नगर सभापति पदमा सापकोटाले १९५ मत प्राप्त गर्दै प्रतिस्पर्धी नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य निर्मल कुमार लामालाई ६५ मतले पछि पारेका हुन्। लामाले १३० मत प्राप्त गरेका छन्।

सापकोटा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी तथा क्षेत्र नं. ६ प्रदेशसभा ‘ख’का सभापति विष्णुभक्त तिमिल्सिना समूहबाट सभापतिका उम्मेदवार बनेका थिए। निर्वाचन परिणामले नगर अधिवेशनमा उक्त समूहको प्रभाव स्पष्ट देखाएको छ।

तारकेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्षसमेत रहेका सापकोटाले नगर कांग्रेसको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्। तारकेश्वरमा यसअघि वडा तहका अधिवेशनहरूमा अधिकांश नेतृत्व सर्वसम्मत चयन भए पनि नगर कार्यसमिति चयनका क्रममा भने सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो।

नगर उपसभापति पदमा सापकोटा प्यानलका शिवप्रसाद अर्यालले १७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सानुकाजी महर्जनले १५० मत प्राप्त गरे।महिला उपसभापति पदमा सगुना खत्री १८० मतसहित निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी शारदा खनालले १२२ मत प्राप्त गरिन्। नगर सचिव पदमा राधेश्याम फुयालले १७२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। प्रतिस्पर्धी सबिना परियारले १४८ मत प्राप्त गरिन्। त्यस्तै सहसचिव पदमा समित केसी १८३ मतसहित निर्वाचित भएका छन् भने विकास कोइरालाले १२४ मत प्राप्त गरे। नगरकार्यसमिति सदस्यमा सर्वसम्मत भएपनि पदाधीकारीहरुमा भने निर्वाचन भएको थियो । नगरकार्यसमितिमा भने तारकेश्वरका ११ वडाका २ जना सहित समावेशी समुहबाट सहित २७ जना नगरकार्यसमिति सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

समारोहमा नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी र प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीनाले निर्वाचीत सभापति सापकोटालाई बधाई र सुभकामना व्यक्तगर्नुभयो ।
हिजो राती अवेर साझा पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरकार्यसमितिका निर्वतमान कार्यसमितिका सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरी महर्जनले नवनिर्वाचीत कार्यसमितिलाई बधाई र सुभकामना दिंदै कार्यकालको सफलताको कामना गर्नुभएको थियो ।
नवनिर्वाचीत अध्यक्ष श्याकृष्ण सापकोटाले पार्टीको आन्तरीक निर्वाचन भएकाले सर्बलाई समेटेर आगामी दिनमा अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तारकेश्वर कांग्रेसको वडा अधिवेशनका क्रममा अधिकांश वडामा नेतृत्व सर्वसम्मत चयन भएको थियो। तर नगर कार्यसमितिको नेतृत्व चयनमा विभिन्न पक्षबीच सहमतिको प्रयास गरिए पनि अन्तिम समयसम्म सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा जानुपरेको हो।

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्