काठमाण्डौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख) का नेता तथा तारकेश्वर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार राईले नेपाली काँग्रेसको प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।
राईले आफ्नो राजनीतिक यात्रा, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका रूपमा गरेको काम तथा पार्टी संगठनमा लामो समयदेखि सक्रिय भूमिकालाई आधार बनाउँदै प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो।
तारकेश्वर नगरपालिका वडा नं. १० का अध्यक्ष राई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। राई नेपाली काँग्रेसको संगठनमा समेत लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। २०७८ सालमा उहाँ नेपाली काँग्रेस तारकेश्वर–१० को वडा सभापतिमा निर्वाचित हुनुभएको थियो।
वडा अध्यक्षका रूपमा राई स्थानीय विकाससँगै सामाजिक क्षेत्रमा समेत सक्रिय देखिनुभएको छ।
राईले उम्मेदवारी घोषणा गर्दै राष्ट्रियता, लोकतन्त्र, समाजवाद को आदर्शलाई आत्मसात गर्दै पार्टी संगठनलाई थप व्यवस्थित, सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले प्रदेशलाई समृद्ध, सुशासनयुक्त र जनमुखी बनाउने अभियानमा सहकार्य तथा समर्थनका लागि कांग्रेसका नेता, कार्यकर्ता, क्रियाशील सदस्य र क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गर्नुभएको छ।
प्रदेश सभापतिको उम्मेदवारीसँगै राईले स्थानीय तहको जनप्रतिनिधिको अनुभवलाई पार्टी संगठनसँग जोडेर प्रदेश तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य अघि सार्नुभएको छ।
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख) प्रदेश सभापतिमा तारकेश्वर–१० का वडा अध्यक्ष कुमार राईद्वारा उम्मेदवारी घोषणा


प्रतिक्रिया दिनुहोस्