काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानका लागि काठमाडौंमा तीन वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचन समितिका अनुसार मतदान बिहीबार बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
असोज १८ गते आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको प्रचारप्रसार तथा उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न भएपछि मतदानको तयारी गरिएको हो।
निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिहरूलाई प्रदेश तथा समूहका आधारमा तीन छुट्टाछुट्टै स्थानमा मतदानको व्यवस्था गरिएको छ।
कहाँ–कहाँ हुनेछ मतदान ?
मतदान केन्द्र ‘क’ — राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग
बागमती प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरूले राष्ट्रिय सभा गृहमा मतदान गर्नेछन्।
मतदान केन्द्र ‘ख’ — खुलामञ्च
कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिबाट आएका प्रतिनिधिहरूका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ।
मतदान केन्द्र ‘ग’ — नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी
गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिहरूका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनका लागि देशभरबाट ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधि काठमाडौं आएका छन्।
तीनवटै मतदान केन्द्रमा आवश्यक सुरक्षा, निर्वाचन व्यवस्थापन तथा प्रतिनिधिहरूलाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्