काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहानदेखि मतदान सुरु भएको छ। बिहीबार पटक–पटक समय तोकिएर पनि स्थगित हुँदै आएको मतदान शुक्रबार बिहान सुरु भएको हो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका छन्।
मतदान सुरु हुनुअघि नै प्रतिनिधिहरू आ–आफ्नो मतदान केन्द्रमा लाइनमा बसेका थिए। निर्वाचन समितिले प्रदेश र समूहअनुसार विभिन्न स्थानमा मतदान केन्द्र तोकेको छ।
कुन प्रदेशका प्रतिनिधिले कहाँबाट मतदान गर्दैछन् ?
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — वाग्मती प्रदेशका प्रतिनिधि।
खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेश समूहका प्रतिनिधि।
हिमाल हल — गण्डकी प्रदेशका प्रतिनिधि।
मधेश हल — मधेश प्रदेशका प्रतिनिधि।
पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि।
निर्वाचन समितिले प्रतिनिधिहरूलाई आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह गरेको छ। मतदानअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइने व्यवस्था गरिएको छ।
नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदानसँगै कांग्रेसको आगामी नेतृत्व कसको हातमा पुग्ने भन्ने चासो बढेको छ।


प्रतिक्रिया दिनुहोस्