काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहअन्तर्गत काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनबाट सरोजकुमार बस्नेत क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन भएका छन्। टोखा नगरपालिका–८ स्थित मेरीगोल्ड पार्टी प्यालेसमा आज सम्पन्न अधिवेशनले बस्नेतलाई सभापतिमा चयन गर्नुका साथै ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत रूपमा छनोट गरेको छ।
पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा पूर्वरक्षामन्त्री एवं संविधानसभा सदस्य भीमसेनदास प्रधानको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
अधिवेशनलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनप्रति कडा आलोचना गरेका थिए। उनले विदेशी षड्यन्त्रका कारण थापालाई विशेष महाधिवेशन गर्न लगाएर पार्टीलाई कमजोर बनाइएको आरोप लगाए। विशेष महाधिवेशन पक्षधरहरू षड्यन्त्रकारी भएको टिप्पणी गर्दै सिंहले सामाजिक सञ्जालमार्फत विभिन्न भ्रम फैलाउने काम भइरहेको दाबी गरे। उनले सामाजिक सञ्जालमा आउने सामग्रीको सत्यतथ्य नबुझी विश्वास नगर्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे।
त्यस्तै, पूर्वरक्षामन्त्री एवं संविधानसभा सदस्य प्रधानले गगन थापाको सभापति बन्ने आकांक्षाका कारण नेपाली कांग्रेसले इतिहासमै नराम्रो पराजय बेहोर्नुपरेको आरोप लगाए। उनले पार्टीको पछिल्लो राजनीतिक अवस्था र चुनावी परिणामलाई विशेष महाधिवेशन तथा नेतृत्वको आकांक्षासँग जोड्दै आफ्नो धारणा राखेका थिए।
अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि कल्याण रिजाल, नेपाली कांग्रेस काठमाडौं जिल्ला संयोजक जयकृष्ण महर्जनलगायतका नेताहरूको उपस्थिति रहेको थियो। कांग्रेस नेता कृष्णमान श्रेष्ठलगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जीपी कोइराला लेबर फाउन्डेसनका केन्द्रीय सचिव राजु रानाभाटले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वरका सचिव जगदिश्वर न्यौपानेले गरेका थिए।
अधिवेशनका क्रममा टोखा नगरपालिका वडा नं. १० का पूर्वसभापति तेजप्रसाद सेढाईंलाई पार्टी संगठनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन भएपछि बस्नेतले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिने सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे। उनले पार्टीको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै संगठनलाई थप सुदृढ बनाउन सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए।
क्षेत्र नं. ६ को अधिवेशनबाट सभापतिसहित ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुलाई नियमित महाधिवेशन पक्षधर समूहले संगठनभित्र सहमति कायम गर्दै नेतृत्व चयन गरेको घटनाका रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्