एनपिएलमा आज दुई खेल हुँदै, चार टोली प्रतिस्पर्धामा उत्रिँदै

Sagarmatha Post
Sagarmatha Post १० कार्तिक २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ । यस्तै, जनकपुर र कर्णालीबीचको दोस्रो खेल अपराह्न ५ः०० बजेबाट सुरु हुनेछ ।

आज प्रतिस्पर्धामा उत्रिने चार टोलीमध्ये जनकपुर बोल्ट्सले मात्र यसअघि एनपिएलको उपाधि जितेको छ । जनकपुर यसपटक पनि उपाधि जित्दै पहिलो संस्करणको सफलता दोहोर्‍याउने लक्ष्यमा रहेको छ । उता, कर्णाली याक्स पहिलो उपाधि जित्ने प्रयासमा छ । पहिलो खेल खेल्ने विराटनगर किङ्ग्स र चितवन राइनोज पनि उपाधि जित्ने उद्देश्यसहित मैदानमा उत्रिनेछन् ।

यस संस्करणको एनपिएलमा केही नयाँ सुविधासमेत थपिएका छन् । प्रतियोगितामा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि पहिलोपटक एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ ।प्रतियोगितालाई थप आकर्षक बनाउन क्यानले पुरस्कार राशि पनि बढाएको छ । प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपियाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ८० लाख रुपियाँ पाउनेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्