काठमाडौँ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्। भारत सरकारले उनलाई नेपालका लागि राजदूत नियुक्त गरेपछि कूटनीतिक जिम्मेवारी सम्हाल्न उनी नेपाल आएका हुन्। भारतले दलेलालाई राजदूतका रूपमा नियुक्त गर्नुअघि उनको नाम नेपालसमक्ष प्रस्ताव गरेको थियो। नेपाल सरकारले उनको नियुक्तिका लागि सहमति (एग्रिमो) प्रदान गरेपछि भारतले औपचारिक रूपमा नियुक्त गरेको हो।
यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि उनको स्थानमा दलेलालाई नियुक्त गरिएको हो।सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलासँग विभिन्न मुलुकमा कूटनीतिक जिम्मेवारी सम्हालेको लामो अनुभव छ। उनले इजरायलबाट आफ्नो कूटनीतिक यात्रा सुरु गरेका थिए।
दलेलाले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा रहेर काम गरिसकेका छन्। उनी यसअघि भुटानका लागि भारतीय राजदूतको जिम्मेवारीसमेत सम्हालिसकेका कूटनीतिज्ञ हुन्।त्यसैगरी, सन् २०२५ सेप्टेम्बरदेखि उनी भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालका लागि नयाँ राजदूत पठाएको हो। उनको नियुक्तिलाई नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका सन्दर्भमा महत्त्वका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्