रबिन थपलिया । काठमाडौं । १२ वर्षदेखि नियमित सार्वजनिक यातायातको प्रतीक्षामा रहेको तारकेश्वर नगरपालिका–३ को तीनपिप्ले–मुड्खु सडकखण्डमा साझा यातायात सञ्चालन हुने निश्चित भएसँगै नयाँ तरंग पैदा भएको छ। रोचक त के छ भने, साझा यातायातसँग सेवा सञ्चालनका लागि तारकेश्वर नगरपालिकाले सम्झौता गरेको चार दिन नबित्दै करिब एक वर्षअघि घाटा भएको भन्दै सोही रुटबाट हात झिकेको तारकेश्वर यातायात प्रालि अचानक बससहित सडकमा देखिएको छ।
वर्षौंदेखि सार्वजनिक यातायातको नियमित सेवा नपाएका स्थानीयवासीका लागि साझा यातायातको प्रवेश आशाको विषय बनेको थियो। यही समस्यालाई सम्बोधन गर्न तारकेश्वर नगरपालिकाले करिब चार दिनअघि साझा यातायातसँग सम्झौता गरेको थियो। आगामी मङ्सिरदेखि तीनपिप्ले–मुड्खु रुटमा साझा यातायातले सेवा सञ्चालन गर्ने तयारीसमेत गरेको छ। तर, साझा यातायात आउने खबर सार्वजनिक भएको केही दिनमै तारकेश्वर यातायात प्रालिले सोही रुटमा बस सञ्चालन सुरु गरेपछि स्थानीयवासी आश्चर्यचकित भएका छन्।
एक वर्षअघि घाटा भयो, अहिले अचानक कसरी जाग्यो चासो?
तारकेश्वर यातायातले करिब एक वर्षअघि पनि तीनपिप्ले–मुड्खु सडकखण्डमा बस सञ्चालन गरेको थियो। तर, यात्रु पर्याप्त नभएको र सञ्चालनमा घाटा भएको भन्दै करिब १० देखि १५ दिन अर्थात् दुई साताजति मात्रै बस चलाएर सेवा बन्द गरेको थियो।
त्यसपछि उक्त क्षेत्रका बासिन्दा सार्वजनिक यातायातको नियमित सुविधाबाट वञ्चित हुँदै आएका थिए। स्थानीयवासीले आवतजावतका लागि अन्य रुटमा सञ्चालन हुने सवारीसाधनको भर पर्नुपर्ने बाध्यता थियो। पटकपटक बस सञ्चालनको माग गर्दा पनि तारकेश्वर यातायातले चासो नदेखाएको स्थानीयको भनाइ छ।
तर, साझा यातायातसँग नगरपालिकाले सम्झौता गरेको समाचार सार्वजनिक हुनासाथ तारकेश्वर यातायातले अचानक सोही क्षेत्रमा बस सञ्चालन सुरु गरेपछि स्थानीयवासीले यसको समय र उद्देश्यलाई लिएर प्रश्न उठाएका छन्।
स्थानीयवासीको आशंका छ– एक वर्षअघि घाटा भयो भन्दै छोडेको रुटमा अहिले साझा यातायात आउने भएपछि मात्रै बस सञ्चालन गर्नु संयोग मात्र हो कि साझा यातायातको प्रवेशलाई प्रभावित पार्ने रणनीति?
स्थानीयवासीको चेतावनी : साझा रोक्न खोजे तारकेश्वर यातायात बहिष्कार गर्छौं
तारकेश्वर यातायातले अचानक बस सञ्चालन गरेपछि स्थानीयवासीले आज विरोधसमेत जनाएका छन्। उनीहरूले आफूहरूको मुख्य माग नियमित र सहज सार्वजनिक यातायात सेवा भएको भन्दै साझा यातायात सञ्चालनमा कुनै अवरोध स्वीकार नगर्ने बताएका छन्।
स्थानीयवासीले अब आफूहरू साझा यातायातमै यात्रा गर्ने र तारकेश्वर यातायातले साझा यातायातको सेवा रोक्ने वा प्रभावित पार्ने प्रयास गरे त्यसका बस नचढ्ने तथा कम्पनीलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।
स्थानीयवासीको भनाइमा, वर्षौंदेखि सेवा सञ्चालनका लागि चासो नदेखाएको यातायात कम्पनी साझा आउने निश्चित भएपछि मात्रै सक्रिय हुनु शंकास्पद छ। उनीहरूले कुनै पनि हालतमा साझा यातायातलाई उक्त रुटमा सञ्चालन हुन नदिने प्रयास सफल हुन नदिने र आवश्यक परे आन्दोलन गर्ने बताएका छन्।
तारकेश्वर यातायातको पत्रकार सम्मेलन : दुईबाट सुरु गरेर १० बस चलाउँछौँ
स्थानीयवासीको विरोध र विभिन्न आशंका सार्वजनिक भइरहेका बेला तारकेश्वर यातायात प्रालिले आज पत्रकार सम्मेलन आयोजना गरेको छ।
पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष श्रीकृष्ण नगरकोटीले करिब एक वर्षअघि घाटा भएपछि आफूहरूले उक्त रुटमा बस सञ्चालन बन्द गरेको स्वीकार गरेका छन्। तर, अहिले चाडपर्वलाई लक्षित गरेर पुनः बस सञ्चालन सुरु गरिएको उनको भनाइ छ।
नगरकोटीले सुरुमा दुईवटा बस सञ्चालन गर्ने र आवश्यकताअनुसार क्रमशः १० वटासम्म बस सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
स्थानीयवासीका केही युवाले आफूहरूलाई साझा यातायात रोक्न खोजेको आरोप लगाउँदै आन्दोलन गर्ने तथा धम्की दिने गरेको पनि उनले पत्रकार सम्मेलनमा बताए। तर, यस्ता विरोध र धम्कीबाट पछि नहट्ने भन्दै आफूहरूले नियमित रूपमा बस सञ्चालन गर्ने उनको अडान थियो।
साझा यातायातलाई रोक्ने आफ्नो कुनै उद्देश्य नरहेको स्पष्ट पार्दै नगरकोटीले साझा यातायात पनि सञ्चालन होस् र तारकेश्वर यातायात पनि सञ्चालन होस् भन्ने आफूहरूको धारणा रहेको बताए। दुवै यातायातको प्रतिस्पर्धा अलग-अलग हुने भन्दै उनले साझा यातायातसँग आफूहरूको प्रतिस्पर्धा नरहेको जिकिरसमेत गरे।
पत्रकार सम्मेलनमा तारकेश्वर यातायात प्रालिका अध्यक्ष नगरकोटीसहित कम्पनीका सञ्चालकहरूले पत्रकारहरूका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए।
१२ वर्षपछि बस पाउने आशामा स्थानीय, अब प्रतिस्पर्धाले सेवा सुधारिन्छ कि विवाद बढ्छ?
तीनपिप्ले–मुड्खु क्षेत्रका बासिन्दाले लामो समयदेखि भोग्दै आएको सार्वजनिक यातायातको समस्या समाधानका लागि साझा यातायातसँग भएको सम्झौतालाई सकारात्मक रूपमा लिएका छन्। तर, साझा यातायात आउने पूर्वसन्ध्यामा पुरानो यातायात कम्पनी पनि सक्रिय भएपछि यसले नयाँ विवाद जन्माएको छ।
तारकेश्वर यातायातले साझा यातायात रोक्ने उद्देश्य नरहेको स्पष्ट पारे पनि एक वर्षअघि घाटा भएको भन्दै बन्द गरेको सेवा अहिले साझा यातायात आउने निश्चित भएपछि अचानक सुरु गर्नुले स्थानीयवासीको आशंकालाई थप बल दिएको छ।
अन्ततः तीनपिप्ले–मुड्खुका बासिन्दाले खोजेको विषय कुनै एउटा यातायात कम्पनीको एकाधिकार वा अर्को कम्पनीसँगको प्रतिस्पर्धा होइन, नियमित, सहज, भरपर्दो र सर्वसुलभ सार्वजनिक यातायात सेवा हो। साझा यातायात र तारकेश्वर यातायात दुवैले सेवा सञ्चालन गर्ने अवस्थामा अब प्रतिस्पर्धा यात्रुको सुविधा, सेवा गुणस्तर र नियमिततामा देखिनुपर्ने स्थानीयको अपेक्षा छ।
‘साझा यातायात आउने भएपछि एक वर्षअघि घाटा भन्दै छोडेको रुटमा तारकेश्वर यातायातको पुनरागमन!’१२ वर्षदेखि बस नपुगेको रुटमा प्रतिस्पर्धाको नयाँ खेल!


प्रतिक्रिया दिनुहोस्