काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका ११ जनाकै सनाखत भएको छ। मृतकको पहिचान खुलेसँगै दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।
काठमाडौंबाट छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किरहेका चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका एकै परिवारका पाँच जनाले दुर्घटनामा ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव तथा उनीहरूका छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादव रहेका छन्।
त्यस्तै, दुर्घटनामा माइक्रोबस चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डलको पनि मृत्यु भएको छ।
मृत्यु हुने अन्य व्यक्तिहरूमा सुन्दरपुरटोलकै करिब ३६ वर्षीय गुड्डु यादव, उनकी ३२ वर्षीया श्रीमती गायत्री देवी, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेले मृतक सबैको पहिचान खुलेको जानकारी दिएका हुन्।
दुर्घटनामा घाइते भएकामध्ये ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षम कुमार यादव उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
त्यस्तै, ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रेफर गरिएको छ। ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायलाई थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ भने अर्का २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट खसेर दुर्घटनामा परेको थियो।
दुर्घटनामा एकै परिवारका पाँच सदस्यसहित ११ जनाको ज्यान गएपछि सर्लाहीको सुन्दरपुरटोल शोकमा डुबेको छ।


प्रतिक्रिया दिनुहोस्