सिन्धुपाल्चोक, याङ्री तथा इन्द्रावती नदीमा गएराती आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा क्षति पुगेको छ । ७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको छ भने सब स्टेसन तथा पावर हाउसमा समेत क्षति पुगेको छ । अहिले आयोजनाबाट बिद्युत् उत्पादन ठप्प भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अधिकांश भाग अन्धकार भएको छ । साथै खाल्डेखोला देखी तिपेनीसम्म सडक समेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनहरू समेत चल्न नपाउँदा बिरामीहरू समेत मारमा परेका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।
सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीको जोखिममा परेका ९ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । आज बिहान २ बजे आएको अविरल वर्षापछि बाह्रबिसे नगरपालिका- ३ खादलस्थित ठाडो खोलामा ठूलो बाढी आएको थियो । त्यो बाढी बस्तीमा पस्दा जोखिममा परेका ९ जना स्थानीयको उद्धार गरिएको हो । उनीहरुलाई सकुशल उद्धार गरी नेपाली सेनाको बाह्रबिसे सुरक्षा बेसमा राखिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
तस्बिर : देवराज सुवेदी/रासस


प्रतिक्रिया दिनुहोस्