शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने : प्रधानमन्त्री केपी शर्मा ओली

Sagarmatha Post
Sagarmatha Post २ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उहाँले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । “शिक्षकहरूका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन ।”

अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गर्नुभयो । उहाँले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समयानुकूल सुधारका लागि सरकार तत्पर रहेको जनाउनुभयो ।

“राजनीति र शिक्षकको भूमिकालाई नबुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए”, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले भन्नुभयो, “वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दार रुपमा निर्वाह गरिदिए पुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरू समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनु भनेको जागिरे हुनु होइन, एक प्रकारको जागरण हो ।”

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्