काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उहाँहरूलाई आज दोषी ठहर गरेको हो । अदालतले पूर्वसचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको छ । आरोपी १० जनालाई अदालतले सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुनमा मेलम्चीमा भ्रष्टाचार भएको आरोपमा तीन जना पूर्वसचिव सहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएकोमा अदालतले सिएमसीलाई दोषी ठहर गरेको छ । विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार रुपैँया बिगो भराउन आदेश दिएको छ । देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार रुपैँया बिगो भराउन आदेश दिएको छ । इप्टिसा र बेट्स (बीइटीएस) लाई ६ करोड २१ लाख ०३ हजार भराउन आदेश दिएको छ ।
अदालतको आदेश अनुसार इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी भएको ठहर गर्दै उनीहरूमाथि सजाय र जरिवानाका लागि असोज ७ गते पेशी तोकेको छ । अदालतले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष समेत रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, सहसचिव रुद्रसिंह तामाङ र मुकुन्दप्रसाद पौडेल, घनश्याम भट्टराई, चन्द्रबहादुर थापा, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल र भोजविक्रम थापालाई भने सफाइ दिएको छ ।


प्रतिक्रिया दिनुहोस्