रबिन थपलिया । काठमाण्डौं । असोज ११ । तारकेश्वर नगरपालिका क्षेत्रमा चाडवाड लक्षीत बजार अनुगमन सुरु भएको छ ।
तारकेश्वर नगरपालिकाको बजार अनुगमन टोलीले आज वडा नं ११ नेपालटार क्षेत्रबाट बजार अनुगमनको सुरु गरेको छ । टोलीले नेपालटारका किराना पसलहरु, कस्मेटीक पसलहरु, मिठाईपसल, सुन पसल, मेडिकल लगायत २२ वटा व्यवासयहरुको अनुगमन गरिएको तारकेश्वर नगरपालिकाको अनुगमन टोलीका संयोजक भुपेन्द्र सिंह बडालले बताउनुभयो । अनुगमनको क्रममा नेपालटारमा रहेको क्रिश्टीना ज्वेलर्सले अकै नामको बिल बिजक जारी गरेको भेटिएपछि अनुगमन टोलीले बिलबिजक र सुन जोख्न प्रयोग हुने तराजु बरामद गरेको अनुमगन टोलीकी सदस्य कोपीला देवकोटाले जानकारी दिनुभयो । टोलीले ज्वेलर्सलाई सचेत गराँउदै आवश्यक कागजपत्र सहित नगरपालिकामा सम्पर्कमा आउन पत्र काटेको देवकोटाले बताउनुभयो ।
वडाका प्रतिनिधि एवं वडा सदस्य जगन्नाथ घिमिरेको उपस्थीतिमा भएको अनुगमनमा उपभोक्ता अधिकारकर्मी, उद्योग बाणिज्य संघका प्रतिनिधि, पत्रकार, नगरपालिकाका विषयगत शाखाका प्रमुख एवं प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी लगायतको उपस्थीति रहेको थियो ।
त्यस्तै अनुगमनकै क्रममा नेपालटार स्थीत एक होटलमा फ्रिजमा तापक्रम सन्तुलन नमिलाँउदा फ्रिज भित्र रहेका मासुहरु दुर्गन्धीत र ससेजहरु समेत बिग्रीएको अवस्थामा भेटेपछि उक्त सामग्रीहरु नष्ट गरिएको छ । त्यस्तै नेपालटार स्थीत एक किराना पसलमा म्यादगुज्रीएका सामानहरु भेटिएपछि ति सामग्रीहरु जफत गरिएको अनुगमन टोलीका सदस्य एवं तारकेश्वर नगरपालिकाको राजश्व शाखा प्रमुख सागर अर्यालले बताउनुभयो ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले बजारलाई व्यवस्थीत गर्नका लागि अनुगमन थालिएको नगरपालिकाको राजश्व शाखाका प्रमुख एवं सुचना अधिकारी सागर अर्यालले बताउनुभयो ।
चाडबाडको समयमा तारकेश्वर नगरपालिका क्षेत्र भित्रका बजारलाई व्यवस्थीत बनाउन नगरप्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको निर्देशनमा अनुगमन टोली परिचालन गरिएको हो ।
fg


प्रतिक्रिया दिनुहोस्