वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम ठगीगर्ने तीन पक्राउ

Sagarmatha Post
Sagarmatha Post २२ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं,  वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका–१० घर भई काठमाडौं महानगरपालिका–९ बस्ने २८ वर्षीय राकेश कुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ छन् ।

पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ४५ हजार रूपियाँ, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख ५० हजार रूपियाँ र प्रभाले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख आठ हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका–९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका–९ बाट र प्रभालाई ललितपुर महानगरपालिका–१० बाट आइतबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्