पाठेघरको मुखको क्यान्सर विरुद्धलगाइने एचपिभी खोप सातै प्रदेशमा पुग्यो

Sagarmatha Post
Sagarmatha Post ३ माघ २०८१, बिहीबार
3 Min Read
Aa

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो । उहाँले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताउनुभयो ।

निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ ।

कुन प्रदेशमा कति खोप

महाशाखाका निर्देशक डा रायमाझीले कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा तीन लाख ८० हजार चार सय ६०, बागमती हेटौँडाका लागि एक लाख २५ हजार आठ सय, बागमती भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० मात्रा पठाइसकिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा, कर्णालीमा एक लाख २४ हजार चार सय मात्रा र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० मात्रा खोप पठाइएको छ । प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आआफ्नो जिल्लामा पठाउने उहाँले बताउनुभयो ।

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट हरेक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने डा रायमाझीले बताउनुभयो । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।

झापामा ५५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप लगाइने भएको छ ।

जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो । विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उहाँले बताउनुभयो ।

जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई खोपसम्बन्धी आवश्यक तालिम र अभिमुखीकरण दिइएको जनस्वास्थ्य अधिकृत पाठकले बताउनुभयो । “खोप अभियानका लागि तथ्याङ्क सङ्कलन, जनशक्ति व्यवस्थापनलगायत काम भइरहेको छ”, उहाँले भन्नुभयो । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुनेछ । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्