प्रतिनिधिसभाको आजको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८१  पारित

Sagarmatha Post
Sagarmatha Post २८ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८१  पारित गरेको छ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पारित गरियोस् भनी सभासमक्ष प्रस्तुत गर्नुभएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८१ सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो । त्यसअघि, विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनुभएको विषयको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले धितोको सम्पत्ति बेचबिखन र त्यससम्बन्धी लाभको व्यवस्था विधेयकमा गरिएको बताउनुभयो ।  चल सम्पत्तिको कारोबारलाई सुरक्षित गर्न सकिने गरी ल्याइएको विधेयकमा चल सम्पत्ति धितो राखी गरिने कारोबारको प्रावधानलाई स्पष्ट पारेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

बैठकमा सांसदहरूले देशको आर्थिक प्रणालीलाई पारदर्शी बनाउने गरी आएको विधेयक डिजिटल कारोबारमा ऐतिहासिक हुने बताउनुभयो । सांसदहरूले आर्थिक अपराध नियन्त्रण गर्न, कारोबारलाई छिटोछरितो बनाउन महत्त्वपूर्ण रहेको विधेयक कार्यान्वयनमा जोड दिनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/०८१ पेस गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते मङ्गलवार दिउसो १ः०० बजे बस्नेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्