वर्कशपबाटै अब इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने

Sagarmatha Post
Sagarmatha Post १९ फाल्गुन २०८१, सोमबार
4 Min Read
Aa

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भन्दै निर्देशिका तयार पारेको छ । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नका लागि निर्देशिका तयार पारेको हो ।

केही साता भित्र नै उक्त इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१ पारित गरेर लागु गर्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नयाँ सवारी दर्ता गर्न गर्दा र सवारी नमसारि गर्न इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने हुन्छ । इम्बोस्ड नम्बर जडान गर्नेलाई सरकारले विशेष सुविधा पनि उल्लेख गरेको स्रोतको भनाई छ । उनका अनुसार यसरी इम्बोस्ड नम्बर जडान गरेपछि उक्त सवारी धनीले अनलाईनबाटै सवारीको कर भुक्तान गर्ने सुविधा पाउँछ ।

इम्बोस्ड जडानका लागि पहिलो चरणमा यातायात व्यवस्था विभागले ४ वटा प्रदेशसँग छलफल गरिसकेको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशसँग छलफल गरिसकेको छ । नयाँ व्यवस्था अनुसार अब इम्बोस्ड नम्बर जडान गरेपछि अगाडि वा पछाडि मध्ये कुनै पनि इम्बोस्ड नम्बरमा कुनै कारणले क्षति भयो भने सोही प्लेटमात्र फेर्दा हुन्छ ।

यस अघिको मापदण्ड अनुसार अगाडि वा पछाडि मध्ये कुनै एउटा प्लेटमा क्षति भएको खण्डमा दुवै प्लेट फेर्नुपर्ने व्यवस्था थियो । यसले उपभोक्तालाई थप दायित्व कम हुने परिकल्पना विभागले गरेको हो । इम्बोस्ड नम्बर यातायात कार्यालय, यातायात व्यवस्था विभाग, सवारी पशिक्षण कार्यालयहरू र निजी वर्कशपबाट जडान गर्न सकिने छ ।

यातायात कार्यालयमा इम्बोस्ड नम्बर जडानका लागि रकम भुक्तान गरेको रसिद सहितको आवश्यक कागजातका आधारमा यातायात विभाग, सवारी परीक्षण केन्द्रले इम्बोस्ड नम्बर जडान गरिदिन्छ । यातायात कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरेपछि सवारी धनीले आफ्नो इच्छाअनुसार निजी वर्कशपमा गएर प्लेट जडान गर्न सक्ने ति स्रोतको भनाई छ ।

यस अघि यातायात कार्यालयमा मात्रै जडान गर्न सकिने व्यवस्था थियो । इम्बोस्ड नम्बरको मूल्य २ हजार ५ सय रूपैयाँदेखि ३ हजार ६ सय रूपैयाँसम्म हुनेछ । मोटरसाइकलको २ हजार ५ सय, ट्याम्पोको २ हजार ९ सय, कारको लागि ३ हजार २ सय र ठूला सवारी साधनका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यदि कसैले इम्बोस्ड नम्बर जडानका लागि आवश्यक प्रक्रिया पुरा गरेर जडान भने नगरेको अवस्थामा त्यस्ता सवारी धनीलाई कारबाही गर्न नेपाल ट्राफिक प्रहरीलाई सो निर्देशिकाले भनेको छ । यस अघि इम्बोस्ड नम्बर जडान नगर्नेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भन्ने विषय उल्लेख नभए पनि हालको निर्देशिकाले यस विषयलाई उल्लेख गरेको जनाइएको छ ।

नेपालका धेरैजसो युवाहरु विदेशमा रहेको हुँदा उनीहरुको सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न जटिल हुन्थ्यो । सवारी नामसारी र दर्ता गर्दा स्वयंम सवारीधनी नै उपस्थित हुने व्यवस्था छ । तर, हालको निर्देशिकाले भने यस समस्याको समाधान गरेको छ ।

विदेश बस्ने नेपालीले आफ्नो आफ्नो दाजु भाई, दिदी बहिनी, आमाबुबालाई उक्त आफ्नो नामको प्रोडक्सन दिन सक्ने व्यवस्था छ ।

अर्थात् विदेशबाट नै आफु विदेशमा रहेको र आफ्नो सवारीको पूर्ण अख्तियारी आफ्नो मान्छेलाई दिएको उल्लेख गर्दै निवेदन पठाएको खण्डमा सवारी धनी उपस्थित नभए पनि इम्बोस्ड जडान गर्न सकिने स्रोतको भनाई छ । यसका लागि विदेशमा रहेका व्यक्तिले आफ्नो नाता खुलाएर निवेदन पठाउनु पर्नेछ ।

इम्बोस्ड नम्बर जडान गरेपछि सवारी र सवारीधनीको डाटा सेन्टरमा संकलन हुने गर्दछ । जसले सवारीलाई ट्रयाक गर्न सहज हुनेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्