सातदोबाटो, ललितपुर । आज सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो हलमा युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्यू तथा नेपाल स्थित कोरियाली राजदूत श्री पार्क तेई योङ द्धारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी औपचारिक रुपमा कुकिवन कप तेक्वान्दो प्रतियोगिता २०२५ को उद्घाटन गरियो । नेपाल तेक्वान्दो संघ तथा मित्र राष्ट्र कोरिया स्थित विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको संयुक्त आयोजनामा मिति २०८२ साल वैशाख ४ गते देखि वैशाख ६ गते सम्म सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा कुकिवन कप तेक्वान्दो प्रतियोगिता २०२५ आयोजना हुन गईरहेको छ ।
उक्त समारोहमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य श्री कमल भट्टराई तथा रा.खे.प का कार्यकारी सदस्य एवम् नेपाल तेक्वान्दो संघका उपाध्यक्ष श्री भान बहादुर चन्दज्यू, रा.खे.प का सदस्य श्री जगत धामी, रा.खे.प एवम् नेपाल तेक्वान्दो संघका समेत सदस्य श्री नन्दा बस्याल, राम चन्द्र श्रेष्ठ लगायत राष्ट्रिय खेल संघहरुका अध्यक्ष तथा पदाधिकारीज्युहरुको विशेष उपस्थिति रहेको थियो ।
नेपाल भर सञ्चालित तेक्वान्दो डोजाङ्ग तथा विभागीय तेक्वान्दो टिमहरुबाट ७०० खेलाडीहरुले सहभागिता जनाईरहेको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा माननीय युवा तथा खेलकुद मन्त्रीज्यूले देशको नाम उचो राख्ने यस तेक्वान्दो खेलको विकासमा बाधा उत्पन्न गर्ने हरेक प्रयासहरुलाई खेलकुद मन्त्रालय तथा रा.खे.प. लाई मान्य नहुने कुरा व्यक्त गर्नुभयो । माननीय युवा तथा खेलकुद मन्त्रीज्यूद्धारा यस प्रतियोगिताको आयोजनाबाट नेपाल र दक्षिण कोरिया दुई राष्ट्रबिचको सम्बन्धलाई समेत अझ प्रगाढ पार्नमा योगदान पुग्ने देखिएको हुँदा यस प्रतियोगिताको खेलकुद क्षेत्रमा निकै महत्व राख्ने कुरा व्यक्त गर्नुभयो ।
मिति २०८२ साल वैशाख ४ गते देखि सुरु भएको यस प्रतियोगितामा ब्रेकिङ्ग, पुम्से, टिम फाईट तथा तेक्वान्दो एरोबिक्स जस्ता निकै नै रोमाञ्चक खेल विधाहरुमा कुकिवनको नियम बमोजिम प्रतिस्पर्धा सञ्चालन गरिने छ ।


प्रतिक्रिया दिनुहोस्