काठमाडौँ, तारकेश्वर । तारकेश्वर नगरपालिकाको कार्यालय, धर्मस्थली काठमाडौँमा ‘प्रश्न जनताको’ कार्यक्रम आयोजना गरिएको छ। प्राइम टेलिभिजनको प्रस्तुति रहेको उक्त कार्यक्रममा सयौँ नगरवासीको उपस्थिति रहेको थियो। पत्रकार ऋषि धमलाको उद्घोषणमा सम्पन्न कार्यक्रममा नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले नगरपालिकाको विकास योजनाहरू बारे जानकारी दिँदै स्थानीय नागरिकका जिज्ञासाको जवाफ दिएका छन् ।

मेयर महर्जनले नगरपालिकाले लागू गरेको ‘एक धारा, एक घर’ कार्यक्रमबारे जानकारी दिँदै शुद्ध खानेपानी सुनिश्चित गरिरहेको बताएका छन् । साथै, शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवामा काम, खेलकुद प्रवर्द्धन, र तारकेश्वर मन्दिर तथा सडक विकास योजनाबारे प्रतिबद्धता व्यक्त गरे। उनले ‘प्रथम मेयर खेलकुद प्रतियोगिता’ आयोजना गरेको र १३औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नगरपालिकाको सफलता उल्लेख गरे।
कार्यक्रममा स्थानीयहरूले विभिन्न समस्या उठाएका छन् । ६ नम्बर वडाका पूर्ण महर्जनले सार्वजनिक जग्गा अतिक्रमणको विषय उठाउँदै यसलाई रोक्न नगरपालिकाले कदम चाल्नुपर्ने बताए। नेपालटार गेट सानो बनेको बारे प्रश्न उठाउँदै नागरिकहरूले सो ठाउँको पुल पुरानो भएको गुनासो गरे । पुल पुनः निर्माण गर्दा सावधानी अपनाउनुपर्ने विषय उठेको छ ।
बाढीपीडित लोकनाथ जमरकटेलले राहतको व्यवस्थापनबारे प्रश्न गरेका छन् । जरङ्खुकी एक महिलाले गुणस्तरहीन पाइप प्रयोग नगरिएकाले पानी आपूर्तिमा समस्या भएको गुनासो गरिन्।
जवाफ दिँदै मेयर महर्जनले सार्वजनिक जग्गा संरक्षणमा दृढ प्रतिबद्धता व्यक्त गर्दै भने, “तपाईंहरू सूचना दिनुहोस्, एक महिनाभित्र फिर्ता ल्याउँछु।” उनले नेपालटार गेट पहिलेदेखि रहेको बताउँदै पुनःनिर्माण गरिएको प्रस्ट्याए।

नगरपालिकाकी उपमेयर सृजना अर्याल बुर्लाकोटीले न्यायिक निरुपण र मेलमिलापमा आफूले प्राथमिकता दिएको बताइन्। उनले कानुनी अधिकार प्रयोग गर्दै विवाद समाधानका लागि कार्यरत रहेको बताउँदै भनिन्, “न्यायिक फैसला गर्दा सबैलाई खुसी पार्न सकिँदैन, तर न्यायपूर्ण निर्णय गर्न प्रतिबद्ध छौं,”।
प्रदेश सरकारबाट १९ करोड बजेट प्राप्त भएको जानकारी दिँदै उपमेयर बुर्लाकोटीले स्थानीय उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम ल्याउने बताइन्। नगरपालिकाबाट आयोजना गर्ने कार्यक्रमबारे नगरपालिकाका फेसबुक पेज र सचिवालयबाट हुने अपडेटहरू नियमित हेर्न उनले आग्रह गरिन्। अधिकांश कार्यक्रममा एउटा अनुहार दोहोरिएको बारे उनले महिलाहरू आफै अगाडि आउनुपर्ने बताइन् ।

तारकेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष राधाकृष्ण खड्कीले सो अवसरमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताए। स्थानीय अधिकार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्षलाई बनाउँदा के घाटा छ भन्दै उनले प्रश्न गरे। वडा अध्यक्ष स्वयं अभिभावकको बीचमा पुग्छ। व्यक्तिगत काम त्यागेर सेवा गर्न आएको बताउँदै उनले आलोचना मात्र नगर्न आग्रह गरे। सहभागीहरूलाई आश्वस्त पार्दै उनले भने, “विकास एकैपटक सम्भव हुँदैन। रचनात्मक सल्लाह सुझाव दिनुहोस्, त्यसको कार्यान्वयन गर्न नगरपालिका तयार छ।”
कार्यसम्पादन मूल्याङ्कनमा तारकेश्वर नगरपालिका काठमाडौँ उपत्यकाकै प्रथम स्थानमा रहेको भन्दै सहभागीहरूले प्रशंसा गरेका छन्। । राष्ट्रिय स्वतन्त्र पार्टीका तारकेश्वर नगर सभापतिले भने, “काठमाडौँमा हाम्रो पार्टी पहिलो दल हो। समग्र देशमा हामी चौथो स्थानमा छौं। नगरपालिकाले निर्णय गर्दा हाम्रो सुझाव लिनुपर्छ।”
साविक धर्मस्थली गाविसका पूर्व अध्यक्ष उद्धवराज तिमिल्सिनाले वडाको अधिकार नगरपालिकाले लिने विषयमा असहमति जनाए। “जग्गा बिक्रीका लागि वडाले सिफारिस दिने अनि नगरपालिकामा पनि आउनुपर्ने निर्णय उपयुक्त होइन। वडाले गर्नुपर्ने काम नगरपालिकामा किन आउनुपर्यो?” उनले प्रश्न गरे। मेयर महर्जनले कार्यपालिकाको निर्णय भएकाले पुनर्विचार गरिने जानकारी दिए।
कार्यक्रममा केही जनप्रतिनिधिले पनि गुनासो राखेका छन् । वडा नं. ४ मा स्वास्थ्य ल्याब बन्द रहेको विषय उठेको छ । जेष्ठ नागरिक समस्यामा परेको उल्लेख गरियो। तीन-तीन महिनामा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइरहेको विषयमा प्रश्न उठेको छ । छात्रवृत्तिको १०% कार्यान्वयन भएको छ/छैन भन्ने जिज्ञासा राखियो।
तारकेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष राधाकृष्ण खड्कीले पर्यटन क्षेत्रलाई विशेष ध्यान दिइएको बताए। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्षलाई बनाउँदा कुनै घाटा नभएको भन्दै उनले प्रश्न गरे। “वडा अध्यक्ष आफैं अभिभावकका बीचमा जान्छ। सेवा गर्न आएको हो, आलोचना मात्र नगर्नुहोस्,” उनले भने। सहभागीहरूलाई आश्वस्त पार्दै उनले थपे, “विकास एकैचोटि सम्भव हुँदैन, तर रचनात्मक सुझाव दिए कार्यान्वयन गर्न नगरपालिका तयार छ।” सञ्चारकर्मीलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरियो।
प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद आचार्यले आफू भर्खरै मात्र आएको भए पनि नगरपालिकाका विकास योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। स्थानीयले सूचनाको हक कार्यान्वयन नभएको प्रश्न उठाएपछि उनले पारदर्शिता अपनाइने आश्वासन दिए।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्षलाई बनाउने निर्णयबारे मेयर महर्जनले सो निर्णय शिक्षाको गुणस्तर सुधारका लागि गरिएको भन्दै कुनै हस्तक्षेप नभएको जवाफ दिए ।
तारकेश्वर मन्दिर सुधार तथा बाटो निर्माणका लागि नगरपालिकाको बजेटबाट बर्खाअघि नै काम सम्पन्न गरिने मेयर महर्जनले बताए। “कमजोरी भए सच्याउन तयार छौं,” मेयर महर्जनले प्रतिबद्धता जनाउँदै भने । तारकेश्वर नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको र सुशासन प्रत्याभूति गर्न सफल भएको भन्दै सहभागीहरूले प्रशंसा गरेका छन्।
कार्यक्रम समाप्तिपछि मेयर महर्जनले भने, “कार्यक्रम उत्साहजनक रह्यो। जनताका प्रश्नहरूको जवाफ दिनसक्ने आत्मविश्वास देखाउन यो कार्यक्रम गरिएको हो। यस्तो आँट सबैले गर्न सक्दैनन्” उनले भने । अर्को वर्ष पनि जनताको प्रश्न आयोजना गरिने जानकारी दिँदै कार्यक्रम समापन गरिएको छ। । यसपटक उठेका प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता गर्दै कार्यान्वयन भए/नभएको अर्को वर्ष समीक्षा गर्न नगरपालिकाले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्