कविता : कालो इतिहास

Sagarmatha Post
Sagarmatha Post १४ कार्तिक २०८२, शुक्रबार
1 Min Read
Aa
मैले कविता लेखें
त्यो कविता जस्तो लागेन
मैले गीत गाएँ
त्यो गीत जस्तो गाइएन
कसरी लेख्ने कविता ?
कसरी गाउने गीत ?
नारा लेख्न भएन
भजन गाउन भएन
कवितामा क्रान्तिको चेत भएन भने
गीतमा परिवर्तनको स्वर भएन भने
कविता नलेखे हुन्छ
गीत नगाए हुन्छ ।
कवितामा क्रान्ति
गीतमा परिवर्तन
बोकेर हिडि रहेछु म
मलाई  गिरफ्तार गर्ने भनी
मोस्ट वान्टेडको सूचीमा  राखिएको छ ।
कविता लेखेर गीत  गाउँनु
देश द्रोह हो र ?
तिनीहरु  मलाई देश द्रोही भन्छन
म देशलाई  माया गर्छु
मेरो राष्ट्रियता मरेको छैन
म भित्र
मेरो देश
लुकाएर राख्छु ।
मेरो कविता आन्दोलन हो
मेरो गीत  आन्दोलन हो
सडकमै उफ्रन्छन कविता
सडकमै गाइन्छन गीत
तिम्रा सुसारेहरु
तिमी बाट आजित भएर
सडकमै आइपुगेका छन
तिनीहरुलाई
कविता लेखाउँछौ
गीत सिकाउँछौ
तिम्रा विरुद्ध विद्रोह गर्न सिकाएर
तिम्रो आशन थुत्न लगाउँछौ ।
तिम्रा  विरुद्ध लेखिएका कविता
तिम्रा विरुद्ध गाइएका गीत
शक्तिशाली बम जस्तै हुन
जो तिमै समीपमा पड्किए पछि
तिमी क्षत विक्षत हुने  छौ
तिम्रो वैभव सकिने छ
पाठ्य पुस्तकमा लेखिने छैन तिम्रो इतिहास
इतिहासले तिमीलाई थुकेर छोड्ने छ
गद्धारहरुको इतिहास
कालो इतिहास त हो ।
–प्रकाशचन्द्र खतिवडा 
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
      ९८४२०७३५२५
              kpchandra2023@gmail.com
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्