रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका–८ अन्तर्गत जरङ्कु पुलदेखि लामबगर महादेव मन्दिर क्षेत्रसम्मका खोलाकिनारामा निर्माण गरिएका अतिक्रमित भनिएका संरचनाहरू बुधबार नगरपालिकाले हटाएको छ। नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल को नेतृत्वमा पुगेको टोलीले डोजर प्रयोग गरी तीन वटा पक्की घर, एउटा काठ उद्योग, एउटा टहरा तथा नेपाल रत्न स्कुल को पर्खाल र कम्पाउण्ड भत्काएको हो।
खोलाको दायाँ–बायाँ १० मिटर मापदण्ड कायम गर्ने नगरपालिकाको योजनाअनुसार उक्त संरचनाहरू हटाइएको जनाइएको छ। यसअघि नगर कार्यपालिका बैठकले संरचना हटाउने निर्णय गरेको थियो भने नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै प्रभावित पक्षलाई स्वेच्छाले संरचना खाली गर्न आग्रह गरेको थियो। तर, स्थानीयले संरचना नहटाएपछि अन्ततः डोजर परिचालन गरिएको नगरपालिकाको भनाइ छ।
डोजर फिल्डमा पुगेपछि केही घरधनीहरूले हतार–हतार आफ्ना सामान सार्न थालेका थिए। नगरप्रहरी र नेपाल प्रहरी का सुरक्षाकर्मीहरूले प्रभावित परिवारलाई सामान व्यवस्थापन तथा स्थानान्तरणमा सहयोग गरेका थिए।
संरचना हटाइएका घरधनीहरूले भने आफूहरूमाथि अन्याय भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार अधिकांश घर तथा टहरा खोलाको हालको मापदण्ड लागू हुनुभन्दा धेरैअघि निर्माण गरिएका थिए। उनीहरूले आफ्नो नाममा रहेको लालपुर्जाभित्र नक्सापास गरी कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएको तथा मालपोत कार्यालयमार्फत राजस्व तिरेर स्वामित्व कायम गरिएको अवस्थामा क्षतिपूर्ति नदिई संरचना भत्काउनु न्यायसंगत नहुने बताएका छन्। प्रभावित पक्षले राज्यकै निकायबाट स्वीकृत भएका संरचनाहरूमा उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

यता उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले नगर कार्यपालिकाको निर्णय तथा प्रचलित कानुनी मापदण्डअनुसार नै संरचना हटाइएको स्पष्ट पार्नुभयो। उहाँले खोलाको प्राकृतिक बहाव संरक्षण, बाढी जोखिम न्यूनीकरण तथा सार्वजनिक क्षेत्रको संरक्षणका लागि मापदण्ड कार्यान्वयन अपरिहार्य रहेको बताउँदै मापदण्डभित्र परेका संरचनामा क्षतिपूर्ति दिन सक्ने कानुनी आधार नरहेको धारणा राख्नुभयो।
नगरपालिकाका अनुसार उक्त क्षेत्रमा खोलाको करिडोर निर्माण गर्ने योजना अघि बढाइएको छ। यसका लागि आवश्यक बजेट विनियोजन भइसकेको र निर्माण कार्यका लागि ठेक्का प्रक्रिया समेत सम्पन्न भइसकेको उपप्रमुख अर्यालले जानकारी दिनुभयो।
संरचना हटाउने क्रममा वडा अध्यक्ष श्याम कृष्ण सापकोटा, वडा सदस्य मोहन खत्री लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



ghgh


प्रतिक्रिया दिनुहोस्