काठमाडौं, तारकेश्वर नगरपालिका–९ स्थित एन्जल्स हार्ट नेशनल स्कुल भारतको अयोध्यास्थित महर्षि महेश योगी रामायण विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा आईयूईएफ (International United Educationists’ Fraternity–IUEF) स्कुल एक्सिलेन्स अवार्ड (ISEA–2026) बाट सम्मानित भएको छ। उक्त अवार्ड १२ जुलाई २०२६ मा आयोजित IUEF 6th Mega Summit का अवसरमा विद्यालयलाई प्रदान गरिएको हो।
विद्यालयकी एकेडेमिक डाइरेक्टर रेखा शाही हमालले भारतको अयोध्यामा आयोजित विशेष समारोहबीच विद्यालयको तर्फबाट अवार्ड ग्रहण गर्नुभएको हो। विद्यालयका प्रधानाध्यापक टक थापाका अनुसार गुणस्तरीय शिक्षा, विद्यार्थी–केन्द्रित शिक्षण पद्धति, नेतृत्व विकास, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विद्यालयले पुर्याएको योगदानको मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
विद्यालयले प्रोग्रेसिभ शिक्षण प्रणालीमार्फत विद्यार्थीको बौद्धिक, सिर्जनात्मक र नैतिक विकासमा जोड दिँदै आएको जनाएको छ। आधुनिक प्रविधिमा आधारित सिकाइ, व्यवहारमुखी शिक्षण तथा जीवनोपयोगी सीप विकासलाई प्राथमिकतामा राख्दै विद्यालयले आफूलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्दै आएको विद्यालयको दाबी छ।
शैक्षिक उपलब्धिसँगै खेलकुद क्षेत्रमा पनि विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका विद्यार्थी तथा अन्डर–१४ राष्ट्रिय खेलाडी युवराज खत्रीसहित विभिन्न विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तरविद्यालय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको प्रतिष्ठा बढाएका छन्।
प्रधानाध्यापक थापाले यो सम्मान सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको साझा उपलब्धि भएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय, नवप्रवर्तनमुखी र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
IUEF ले हरेक वर्ष विद्यालय, शिक्षक तथा शैक्षिक नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्दै शिक्षा क्षेत्रमा नवप्रवर्तन, नेतृत्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्दै आएको छ। यस वर्षको सम्मेलनको मुख्य विषय ‘अनिवार्य सीपमूलक शिक्षाको कार्यान्वयनका चुनौती तथा मूलधारको शिक्षामा सीप विषयको समावेश’ रहेको थियो।


प्रतिक्रिया दिनुहोस्