मन्दिर नजिक अचेत भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु, अनुसन्धान जारी

Sagarmatha Post
Sagarmatha Post ११ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

चितवन, ११ साउन — पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई गैंडाकोट–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई रहेका छन्।

स्थानीयले आइतबार दिउँसो दुवै महिलालाई मन्दिर नजिक अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल भेँडाबारी पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुवै महिलाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्