तारकेश्वर–६ को महादेवखोलामा राति अवैध बालुवा उत्खननको आरोप, स्थानीय प्रहरी र नगरप्रहरीको भूमिकामाथि प्रश्न

Sagarmatha Post
Sagarmatha Post ११ श्रावण २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौं। तारकेश्वर नगरपालिका–६ स्थित महादेवखोला क्षेत्रमा रातिको समयमा जेसीभी प्रयोग गरी अवैध रूपमा बालुवा उत्खनन तथा निकासी भइरहेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। शनिबार राति परेको वर्षासँगै खोलाभित्र जेसीभी प्रयोग गरेर उत्खनन भइरहेको देखेपछि स्थानीयले प्रहरी कन्ट्रोल कक्षमा जानकारी गराएका थिए।

प्रहरी कन्ट्रोलबाट निर्देशन प्राप्त भएपछि धर्मस्थली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, प्रहरी पुग्दासम्म खोलाभित्र रहेको जेसीभी भने फेला नपरेको धर्मस्थली प्रहरी चौकीका इन्चार्ज यमबहादुर थापाले जानकारी दिए।

थापाका अनुसार घटनास्थल नजिकै सडकमा खाल्टाखुल्टी पुर्ने काम गरिरहेको एउटा जेसीभी भेटिएको थियो। उक्त जेसीभीलाई रातिको समयमा काम नगर्न निर्देशन दिई फर्काइएको उनले बताए।

यद्यपि, धर्मस्थली प्रहरी चौकीबाट करिब एक किलोमिटरको दूरीमै भइरहेको भनिएको अवैध उत्खननबारे स्थानीय प्रहरीलाई पूर्वजानकारी नभएको र प्रहरी कन्ट्रोलको सूचनापछि मात्र घटनास्थल पुगेको अवस्थाले स्थानीय प्रहरीको निगरानी र सक्रियतामाथि प्रश्न उठेको स्थानीयको भनाइ छ।

त्यस्तै, रातिको समयमा हुने अवैध गतिविधि नियन्त्रण गर्न तारकेश्वर नगरपालिकाले नगरप्रहरी परिचालन गर्ने व्यवस्था गरे पनि नगरपालिका कार्यालय नजिकै भइरहेको भनिएको यस्तो गतिविधि रोक्न नसकिएको भन्दै नगरप्रहरीको भूमिकामाथि समेत प्रश्न उठाइएको छ।

धर्मस्थली प्रहरीले घटनास्थलमा पुग्दा खोलाभित्र जेसीभी नभेटिएको जनाएको छ। स्थानीयवासीले महादेवखोला क्षेत्रमा भइरहेको भनिएको अवैध बालुवा उत्खननबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा रातिको समयमा हुने यस्ता गतिविधि रोक्न प्रभावकारी अनुगमन र निगरानीको व्यवस्था गर्न माग गरेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्