तारकेश्वर खेलकुद विकास समितिको सदस्यमा एन्जल्स स्पोर्ट एकेडेमीका अध्यक्ष खिम थापा नियुक्त

Sagarmatha Post
Sagarmatha Post १३ श्रावण २०८३, बुधबार
1 Min Read
Aa

स्थानीय खेलकुदको विकास र युवा प्रतिभा उत्पादनमा सक्रिय थापाको नियुक्तिले खेल क्षेत्रमा नयाँ अपेक्षा

काठमाडौं। तारकेश्वर नगरपालिका–९, इन्द्रायणीपुलस्थित एन्जल्स स्पोर्ट एकेडेमीका अध्यक्ष खिम थापा तारकेश्वर नगरपालिकाको खेलकुद विकास समितिको सदस्यमा नियुक्त भएका छन्।

नगरपालिकाले आयोजना गरेको औपचारिक समारोहमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले थापालाई नियुक्तिपत्र प्रदान गरेका हुन्।  तारकेश्वर क्षेत्रमा खेलकुद गतिविधिको विस्तार, युवा खेलाडी उत्पादन तथा खेल संस्कृतिको विकासमा लामो समयदेखि सक्रिय रहेका थापा एन्जल्स स्पोर्ट एकेडेमीमार्फत बालबालिका तथा युवालाई नियमित प्रशिक्षण उपलब्ध गराउँदै आएका छन्। एकेडेमीले फुटबलसहित विभिन्न खेलका प्रतिभावान खेलाडी उत्पादन गर्दै स्थानीय स्तरमा खेलकुदप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

खेलकुद क्षेत्रप्रतिको उनको समर्पण, नेतृत्व क्षमता र सक्रिय योगदानलाई मूल्याङ्कन गर्दै नगरपालिकाले खेलकुद विकास समितिको सदस्यको जिम्मेवारी दिएको बताइएको छ। थापाको नियुक्तिले नगरभित्र खेल पूर्वाधार विकास, विद्यालयस्तरीय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतियोगिताको विस्तार तथा नयाँ खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।

नियुक्तिपछि प्रतिक्रिया दिँदै थापाले आफूलाई दिइएको जिम्मेवारीलाई खेलाडी, प्रशिक्षक र सम्पूर्ण खेल समुदायको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले तारकेश्वरलाई खेलकुदमैत्री नगरका रूपमा स्थापित गर्न सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने बताए।

थापाको नियुक्तिप्रति खेलकर्मी, स्थानीयवासी तथा शुभेच्छुकहरूले बधाई व्यक्त गर्दै उनको कार्यकाल सफल र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्