निर्माण सम्पन्न नहुँदै भत्कियो तारकेश्वर–६ को ४६ लाखको जालीवाल, बस्ती जोखिममा,नगरपालिकाले काम स्वीकार नगरेको दाबी

Sagarmatha Post
Sagarmatha Post १५ श्रावण २०८३, शुक्रबार
2 Min Read
Aa

नगरपालिकाले काम स्वीकार नगरेको दाबी– निर्माण कम्पनीलाई पुनः बनाउन निर्देशन

रबिन थपलिया काठमाडौं ।तारकेश्वर नगरपालिका–६ स्थित नगरपालिका कार्यालय नजिकैको चौतारोको तल्लोभागमा पहिरो नियन्त्रणका लागि निर्माण भइरहेको करिब ४६ लाख रुपैयाँ लागतको जालीवाल निर्माण सम्पन्न नहुँदै तीन महिनाभित्रै भत्किएको छ। गएरातिको वर्षापछि जालीवाल बगेर तल खस्दा आसपासका बस्तीका घरहरू जोखिममा परेका छन्।

स्थानीयका अनुसार पहिरो नियन्त्रणका लागि निर्माण गरिएको जालीवाल सुरुदेखिनै प्राविधिक रूपमा कमजोर देखिएको थियो। पहिरोको तल्लो भागबाट मजबुत आधार तयार गर्नुपर्नेमा खर्च घटाउने उद्देश्यले पहिरोको बीच भागबाट मात्र जालीवाल उठाइएकाले संरचना कमजोर बनेको उनीहरूको आरोप छ।

यसअघि नै सगरमाथा पोष्ट ले निर्माणको गुणस्तर र सम्भावित जोखिमबारे ठेकेदार तथा जनप्रतिनिधिको ध्यानाकर्षण गराएको थियो। तर आवश्यक सुधार नहुँदा अन्ततः जालीवाल भत्किएको स्थानीयको भनाइ छ।उक्त योजना तारकेश्वर नगरपालिकाको ४६ लाख रुपैयाँको ठेक्कामा एचके स्किल स्टाफ प्रा.लि. ले निर्माण गरिरहेको हो।

तारकेश्वर नगरपालिकाका प्राविधिक प्रमुख उज्ज्वल न्यौपाने ले भने निर्माण कार्य अझै अन्तिम रूपमा सम्पन्न नभएको बताए। उनका अनुसार नगरपालिकाले हालसम्म उक्त काम स्वीकार (फाइनल) गरेको छैन भने निर्माण कम्पनीले बिलसमेत पेश गरेको छैन।

“ठेक्का फाइनल नभएकाले नगरपालिकाले काम स्वीकार गरेको अवस्था छैन। त्यसैले यसलाई राज्यको आर्थिक क्षति भन्न मिल्दैन,” न्यौपानेले भने, “यदि भुक्तानी भइसकेको भए पनि एक वर्षको डिफेक्ट लाइबिलिटी पिरियड रहने भएकाले सो अवधिभित्र संरचना भत्किए निर्माण व्यवसायी नै जिम्मेवार हुन्थ्यो।”

उनका अनुसार कम्पनीको धरौटी र कार्यसम्पादन जमानत नगरपालिकासँग रहेकाले निर्माण कम्पनीलाई पुनः जालीवाल निर्माण गर्न लगाइनेछ। “ठेकेदारलाई जानकारी गराइसकेका छौं, उसले पुनः निर्माण गर्ने प्रतिबद्धता जनाएको छ,” उनले बताए।

यस्तै, तारकेश्वर–६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ ले निर्माण सम्पन्न नहुँदै जालीवाल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै निर्माण कम्पनीले नै पुनः निर्माण गर्ने बताए।

यद्यपि, घटनाले निर्माणको डिजाइन र प्राविधिक पक्षमाथि गम्भीर प्रश्न उठाएको छ। पहिरो नियन्त्रणका संरचना तल्लो भागबाट बलियो जगसहित निर्माण गर्नुपर्नेमा बीच भागबाट मात्रै जालीवाल राखिएकाले डिजाइनमै कमजोरी देखिएको स्थानीयको भनाइ छ।

स्थानीयले निर्माणका क्रममा गुणस्तर र प्राविधिक मापदण्डमा पर्याप्त ध्यान नदिइएकाले जालीवाल टिक्न नसकेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, संरचना भत्किनुको वास्तविक कारणबारे विस्तृत प्राविधिक अध्ययन हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्