काठमाडौं, साउन १५ — उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ–नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा ‘SLC/SEE सम्मान कार्यक्रम–२०८३’ शुक्रबार भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको सगरमाथा हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौँ जिल्लाभरका उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरूलाई सम्मान गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा जोड दिइएको छ।
हिसान काठमाडौँका अध्यक्ष गोपीराज पराजुलीको अध्यक्षता तथा सचिव कृष्ण गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व राज्यमन्त्री एवं हिसान निर्देशक परिषद्का संयोजक उमेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
विशिष्ट अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जगबहादुर अर्याल, प्राज्ञिक तथा अनुसन्धान परिषद्का संयोजक डा. माधव बराल, शिक्षाविद् डा. शिवदत्त ज्ञवाली, हिसान केन्द्रीय अध्यक्ष युवराज शर्मा, हिसानका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार रमेश कुमार सिलवाल, शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख सुरेश कुमार जोशी तथा काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालको उपस्थिति रहेको थियो।
यसैगरी हिसान केन्द्रीय महासचिव रामहरी सिलवाल, वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, टंकराज आचार्य, बागमती प्रदेश अध्यक्ष राजकुमार आचार्य, सचिव, उपाध्यक्ष, कोषाध्यक्ष शिव अधिकारी, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट तथा काठमाडौं महानगरपालिका, तारकेश्वर, चन्द्रागिरि, नागार्जुन, कीर्तिपुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र टोखा नगरपालिकाका हिसान समितिका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा काठमाडौँ जिल्लाका ९४ विद्यालय तथा ती विद्यालयबाट एसईईमा उत्कृष्ट अंक हासिल गरेका ११६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान प्रदान गर्दै उनीहरूको शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको प्रारम्भमा हिसान काठमाडौँका वरिष्ठ उपाध्यक्ष ऋषि न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोसराया आचार्यले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो। त्यसपछि अध्यक्ष गोपीराज पराजुलीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उत्कृष्ट विद्यार्थीहरूको सम्मानले शैक्षिक क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने बताउनुभयो।
विभिन्न चरणमा सम्पन्न सम्मान कार्यक्रममा हिसानका पदाधिकारी, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव, प्रमुख अतिथि तथा अन्य विशिष्ट व्यक्तित्वहरूले उत्कृष्ट विद्यार्थी तथा विद्यालयहरूलाई प्रमाणपत्र र सम्मानपत्र वितरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उमेश श्रेष्ठले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै अबको प्रतिस्पर्धा विश्वस्तरको भएकाले अध्ययनसँगै सीप, अनुशासन र नेतृत्व क्षमता विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो। उहाँले निजी तथा सामुदायिक शैक्षिक संस्थाबीच सहकार्य र गुणस्तरीय शिक्षामा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी हिसान केन्द्रीय अध्यक्ष युवराज शर्माले निजी शिक्षण संस्थाहरूले मुलुकको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै विद्यार्थी केन्द्रित शिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउन हिसान निरन्तर लागिरहेको बताउनुभयो।

हिसान केन्द्रीय महासचिव रामहरी सिलवालले यस्ता सम्मान कार्यक्रमले उत्कृष्ट विद्यार्थीको हौसला बढाउनुका साथै अन्य विद्यार्थीलाई पनि राम्रो नतिजा हासिल गर्न प्रेरित गर्ने उल्लेख गर्दै गुणस्तरीय शिक्षा र शैक्षिक उत्कृष्टताको अभियानलाई हिसानले निरन्तर अघि बढाउने बताउनुभयो।
त्यसैगरी हिसान बागमती प्रदेश अध्यक्ष राजकुमार आचार्यले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य नै गुणस्तरीय शिक्षाको आधार भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइने धारणा राख्नुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष गोपीराज पराजुलीले सम्पूर्ण अतिथि, शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो।
तारकेश्वरका ९ विद्यालय र ९ विद्यार्थी सम्मानित
कार्यक्रममा तारकेश्वर नगरपालिका क्षेत्रभित्र हिसानमा आबद्ध ९ वटा विद्यालय तथा ती विद्यालयबाट उत्कृष्ट अंक ल्याएका ९ जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ।
तारकेश्वर नगर प्याब्सनका अध्यक्ष लिलबहादुर पुनका अनुसार सम्मानित विद्यालयहरूमा एन्जल्स हार्ट एजुकेशन फाउण्डेसन, लालिगुराँस नेशनल एकेडेमी, कौसर स्कुल, काठमाडौं लिंकन स्कुल लगायत तारकेश्वर क्षेत्रका हिसानमा आबद्ध नौवटै विद्यालय समावेश छन्। उहाँले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै विद्यालयहरूलाई गुणस्तरीय शिक्षातर्फ अझ प्रतिबद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो।


cvx



प्रतिक्रिया दिनुहोस्